बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

'कसैले सम्पत्ति शुद्धीकरण गर्न घरघडेरी किन्दैछ भने राष्ट्र बैंकलाई जानकारी दिनू'

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २१ २०८३
'कसैले सम्पत्ति शुद्धीकरण गर्न घरघडेरी किन्दैछ भने राष्ट्र बैंकलाई जानकारी दिनू'

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले घरजग्गा व्यवसायीलगायतका विभिन्न क्षेत्रलाई ‘सूचक संस्था’ को रूपमा राखेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकका निर्देशक कमल पौडेलले कसैले सम्पत्ति शुद्धीकरण गर्ने हेतुले घरघडेरी किन्दैछ भने राष्ट्र बैंकलाई जानकारी दिन आग्रह गरेका छन्। अवैध धन शुद्धीकरण गर्ने हिसाबले केहीले घरजग्गामा लगानी गर्ने गरेको जानकारी दिँदै उनले यसमा राष्ट्र बैंकले निगरानी गरिरहेको बताए। 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा दोस्रोपटक ग्रेलिस्टमा परेको बताउँदै यसबाट बाहिर निस्कन घरजग्गा कारोबार नियमनमा कडाइ गरिएको बताए। उनले घरजग्गा जस्ता व्यावसायिक कारोबारलाई मर्यादित बनाउन सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनी प्रावधानहरूको पालना अनिवार्य रहेकोमा जोड दिँँदै कसैले शंकास्पद तवरले घरजग्गा किन्न खोज्दैछ भने त्यसको सूचना व्यवसायीले सरकारलाई दिनुपर्ने बताए।

पौडेलकाअनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले घरजग्गा व्यवसायीलगायतका विभिन्न क्षेत्रलाई ‘सूचक संस्था’ को रूपमा राखेको छ। शंकास्पद कारोबारको पहिचान गर्ने काम सूचक संस्थाको पनि रहेको उनको भनाइ छ।

पौडेलका अनुसार कुनैपनि व्यक्तिले अस्वभाविक रूपमा ठूलो रकमको कारोबार गरेमा वा उच्च पदस्थ व्यक्तिले शंकास्पद धन लगानी गरेमा त्यसको स्रोत खोज्नुपर्ने हुन्छ। व्यवसायीहरूले ग्राहकको सम्पत्तिको स्रोत खुलाउने फारम भराउनुपर्ने र शंका लागेमा वित्तीय जानकारी एकाइ लाई रिपोर्ट गर्नुपर्ने उनको भनाइ छ।

‘सम्पत्ति शुद्धीकरणमा ग्रेलिस्टमा पर्नुको एक कारण केही क्षेत्रमा अनियमित भएका कारण हो। त्यसमध्ये घरजग्गा व्यवसाय पनि एक हो। यसको अर्थ के हो भने, तपाईंहरूले केही गल्ती गरिहाल्नुभएको भन्ने होइन। तर कुनै पनि व्यवसाय सञ्चालन हुन्छ भने त्यो कुनै न कुनै रूपमा नियमन हुनुपर्छ। सम्पत्ति शुद्धीकरण भनेको दोस्रो चरणको अपराध हो भन्ने कुरा बुझ्नुपर्छ। अर्थात्, कसैले पहिलो चरणमा अपराध गरेर त्यसलाई वैध देखाउने प्रयास गर्छ भने त्यो दोस्रो चरणको अपराध हो' निर्देशक पौडेलले भने।

'कुनै दुर्घटना भयो भने त्यो दुर्घटनामै सीमित रहँदासम्म सम्पत्ति शुद्धीकरण लागु हुँदैन। तर यदि बीमा कम लिनका लागि योजनाबद्ध रूपमा दुर्घटना गराइयो वा मान्छे मारियो भने त्यहाँ सम्पत्ति शुद्धीकरणको अपराध हुन सक्छ। यसका धेरै आयाम छन्, तर बुझ्न सजिलो हुने एउटा पक्ष यही हो। तपाईंहरूले प्रत्यक्ष रूपमा सम्पत्ति शुद्धीकरण गर्नुहुन्छ भन्ने होइन तर यस्तो अपराध गर्ने व्यक्तिहरूले तपाईंहरूको व्यवसाय प्रयोग गर्न सक्छन्। त्यसैले त्यस्तो जोखिमबाट जोगिनु आवश्यक हुन्छ’ उनले भने। 

यस्तै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले हाल लागु गरिएको तीन करोड रुपैयाँसम्मको होम लोन सुविधा व्यवहारिक नभएको बताए। उनका अनुसार नेपालमा उच्च तहका सरकारी कर्मचारीको तलब नै सीमित भएकाले यस्तो ठूलो रकमको ऋण व्यवहारमा उपयोग गर्न कठिन रहेको छ।

विशिष्ट श्रेणीका सचिवको मासिक तलव करिव ७५ हजार रुपैयाँ मात्र हुने र सबै खर्च कटाएर उनीहरूले मासिक ४५/५० हजार रुपैयाँभन्दा बढी किस्ता तिर्न नसक्ने अवस्था रहेको उनले बताए। यस्तो अवस्थामा बैंकबाट अधिकतम ४०/५० लाख रुपैयाँसम्म मात्रै ऋण पाउने सम्भावना रहने भएकाले तीन करोड रुपैयाँको होम लोन सीमा व्यवहारमा लागु हुन नसक्ने तर्क उनको छ।

अध्यक्ष घिमिरेले भने ‘तीन करोडसम्म होम लोनको सुविधा एकातिर छ भने अर्कोतिर ३ करोड लिन सक्ने ठाउँ नै छैन। हाम्रो देशमा सबैभन्दा विशिष्ट श्रेणीको सचिवको तलब पनि जम्मा ७५ हजार छ। उनले लोन लिन चाहनुभयो भने सबैथोक कटाएर उनले महिनाको ४५/५० हजारभन्दा बढी इएमआइ तिर्न सक्नुहुन्न र उनले लोन पाउने भनेको त्यही ४०/५० लाख भन्दा बढी उनले पाउनै सक्नुहुन्न। जब एउटा देशकै विशिष्ट श्रेणी कर्मचारीले ५० लाख भन्दा बढी ऋण लिन सक्नुहुन्न भने यो ३ करोडको अवधारणा अलिकति यसलाई मिलाउनुपर्छ कि भन्ने लाग्छ मलाई।’

कार्यक्रममा नेपाल स्टेट एजेन्ट्स तथा एजेन्सिज महासंघका अध्यक्ष विनोद सुवेदीले नेपालमा घरजग्गा एजेन्ट र एजेन्सीको लागि इतिहासमै पहिलो पटक मालपोत ऐन २०३४ लाई संशोधन गरेर लाइसेन्स इजाजत पत्र लिनुपर्ने नियम सकारात्मक रहेको बताए। उनले ८/९ वर्षदेखि व्यवसायीले उठाएको मागलाई राज्यले सम्बोधन गरेको बताए। 


प्रकाशित : सोमबार, वैशाख २१ २०८३११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend