मुस्ताङ- नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो संख्यामा जंगली गधा (क्याङ) देखापरेका छन्।
समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जंगली गधा (क्याङ) चर्दै गरिहेको अवस्थामा भेटिएका हुन्।
जंगली गधा (क्याङ) सम्बन्धी अध्ययन गरिरहेका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङस्थित धालुङ र सेतारा उच्चलेकमा जंगली गधा क्याङ चर्दै गरिरहेको अवस्थामा भेटिएको बताए।
कोरलास्थित नेपाल-चीन सीमा क्षेत्रबाट फर्किंदै गरेको अवस्थामा धालुङ र सेतारा उच्चलेकमा जंगली गधाहरुको बथान चर्दै गरेको अवस्थामा देखिएको प्रमुख पौडेलले बताए।
आफूले लोमान्थाङको धालुङ उच्चलेकमा १०२ वटा र सोही स्थानको अर्को सेतारा उच्चलेकमा १४ वटा गरी ११६ वटा जति जंगली गधा (क्याङ) देखेको जानकारी दिए।
उनका अनुसार जंगली गधाको बासस्थान हिमायन ट्रान्स हिमालयन (तिब्बत/मुस्ताङ) क्षेत्रमा रैथान संयुक्त बासस्थान रहेको बताइन्छ। दुर्लभ स्तनधारी जंगली गधा (क्याङ)को मौसम अनुसार बासस्थान तय हुने प्रमुख पौडेलको भनाइ छ।
हिउँदयामको आठ महिना तिब्बती पठारमा बर्खायाममा गर्मी सुरु हुँदा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेकमा बासस्थान बनाउने गरेको प्रमुख पौडेलले बताए।
तिब्बतको पठारमा बढी समय बिताउने जंगली गधाहरु अप्रिल, मे र जुन महिनामा बासस्थान परिवर्तन गरी उपल्लो मुस्ताङका उच्चलेकमा प्रवेश गर्छन्। तिब्बत र मुस्ताङको सीमा क्षेत्रमा बस्ने जंगली गधाहरु बढी समय तिब्बती पठारमा बिताउँछन्।
चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमाक्षेत्रको चरन क्षेत्रमा मौसमअनुसार जंगली गधाको संख्या देखिने गरेको छ।
यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जंगली गधाको संख्या यकिन गर्ने गरिएको भए पनि यति ठूलो संख्यामा पहिलो पटक देखिएको हो। यसअघि सन् २००४ मा गरिएको जंगल गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा संख्या देखापरेका थिए।
जलवायु परिवर्तनका कारण यस प्रकारका जंगली गधाहरु मौसमअनुसार तलमाथि गर्ने गर्छन्। यो याममा उपल्लो मुस्ताङका सीमावर्ती उच्चलेकमा हरियो घाँस पलाइसकेकाले जंगली गधाहरु आहारको खोजीमा नेपाल प्रवेश गरेका हुन्।
जंगली गधाको शरीर खैरो/हरियो रातो र पेटतिरको भाग सेता रंग हुन्छ। यसका खुट्टाहरु लामो लामो र सिधा उभिने शैलीको छिटो कुद्न सक्ने क्षमता राख्दछ। जंगली गधा एसियाकै सबैभन्दा ठूलो स्तनधारी प्राणी हो।
समूहमा बस्ने, छिटो छिटो कुद्ने र सतर्क रहने जंगली गधाको मुख्य विशेषता हो। जंगली गधाका लागि जलवायु संकट र मानव गतिविधि मुख्य चुनौतीका रुपमा लिने गरिएको छ। रासस