सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दैनिक १३ करोड ९२ लाख घाटामा प्राधिकरणले किन्यो बिजुली, प्रतियुनिट ३८ खर्चेर ९ रुपैयाँमा बेच्दै

शुक्रबार, चैत ११ २०७८
दैनिक १३ करोड ९२ लाख घाटामा प्राधिकरणले किन्यो बिजुली, प्रतियुनिट ३८ खर्चेर ९ रुपैयाँमा बेच्दै

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा भारतबाट २ सय मेगावाट बिजुली किनेको छ। जुन बिजुली प्राधिकरणले उद्योगहरूमा प्रतियुनिट ९ रूपैयाँमा बेच्नेछ। 

अहिले महँगोमा नै भए पनि बिजुली किनेर लोडसेडिङ हुन नदिने तयारीमा लागिरहेको प्राधिकरणले यसैगरी महँगोमा धेरै समयसम्म बिजुली किन्न भने नसक्ने बताइरहेको छ। प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आईआईएक्स) का ९६ वटै ब्लकहरूमा प्रतियुनिट २० भारु कबोल गरेपछि बिजुली किन्न सकेको हो। 

प्रसारण शुल्क, चुहावट, प्रशासनिक तथा प्राविधिक सबै जोडेर प्रतियुनिट ३८ रूपैयाँ परेको हो। प्राधिकरणले आयात गरेको ४८ लाख युनिट बिजुलीको एकमुष्ठ मूल्य १८ करोड २४ लाख रुपैयाँ परेको छ। जसमा प्राधिकरणलाई एक दिनमा १३ करोड ९२ लाख रुपैयाँ घाटा परेको छ। 

चरम ऊर्जा संकटपछि बिजुली महँगो भएर मंगलबार रातिदेखि भारतबाट आयात हुने बिजुली रोकिएको थियो। जसका कारण उद्योगहरूमा बिजुली आपूर्ति असहज हुनुका साथै कतिपय उद्योगहरूमा त बिजुली नै रोकिएको थियो। यसैले समस्या समाधानका लागि प्राधिकरणले महँगोमा नै भए पनि बिजुली खरिद गरेको हो।  

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ३५ दिनसम्म प्राधिकरणले महँगोमा नै भए पनि बिजुली किनिरहने छ, तर त्यसपछि भने सरकारले विकल्प सोच्नुपर्ने छ। 

अहिले ३ सयदेखि ३ सय ५० मेगावाट बिजुली थप हुँदा व्यवस्थापन गर्न सकिने हुँदा ७ अर्बको आयात गर्नेगरी तयारी भइरहेको प्राधिकरणले जनाएको छ। '७ अर्बकाे आयात हुने अनुमान हो। तर अहिले १० अर्ब बराबरकाे आयात हुने देखियाे। ३५ दिन १५ देखि २० भारुमा आयात गर्दा मासिक ८ अर्ब रूपैयाँ थप भार पर्छ। अहिले दैनिक २२ कराेडकाे भार परेकाे छ। यसकारण लामाे समय महँगाेमा खरिद गर्न कठिन छ' कार्यकारी निर्देशक घिसिङले भनेका छन्। 

अहिले बिजुली अभाव भए पनि नेपालमा गत भदाै असाेजमा ४ सय मेगावाट बिजुली खेर गएको थियो। अब पनि बर्षादमा ४ सय देखि ५ सय मेगावाट खेर जाने अवस्था रहेको प्राधिकरणले जनाएको छ। 

अहिले भने विद्युतको माग बढेकाे छ। प्राधिकरणका अनुसार गत वर्ष यही समयमा १३ सय मेगावाटमात्रै माग हुने गरेकाे थियाे। अहिले १६ सय मेगावाट माग पुगेकाे छ। जबकि अहिले स्वदेशी उत्पादन ९ सय मेगावाट हाराहारी रहेको छ। 


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend