काठमाडौं- अबदेखि सार्वजनिक निकायले वस्तु तथा सेवा खरिदका लागि विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गर्दा पत्रपत्रिकामा सूचना प्रकाशन नगरे पनि हुने भएको छ।
अध्यादेशबाट सार्वजनिक खरिद ऐन संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो।
ऐनको दफा १४ को उपदफा १ मा बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वान राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नेछ र अन्तर्राष्ट्रियस्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत प्रकाशन गर्नसक्ने व्यवस्था रहेको छ।
संशोधनबाट प्रतिबन्धात्मक वाक्यांश राख्दै, ‘तर विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वान गरिएको अवस्थामा त्यस्तो सूचना विद्युतीय खरिद प्रणालीबाहेक अन्य माध्यमबाट प्रकाशन गर्नुपर्ने छैन’ भन्ने व्यवस्था गरिएको छ।
योसँगै अबदेखि विद्युतीय खरिद प्रणालीमार्फत गरिने खरिदको बोलपत्रको सूचना पत्रिकामा नछापिने भएको छ।
उक्त दफाको उपदफा २ मा यसरी विद्युतीय प्रणाली नअपनाएकाले पनि त्यस्तो सूचना खरिद अनुगमनको कार्यालयको वेबसाइट र आफ्नो वेबसाइटमा राख्नुपर्ने उल्लेख छ।