सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नाफा उकालो लाग्दा बैंकहरूको आरओईमा सुधार, औसत ८.६८ प्रतिशतमा पुग्यो

सोमबार, वैशाख २१ २०८३
नाफा उकालो लाग्दा बैंकहरूको आरओईमा सुधार, औसत ८.६८ प्रतिशतमा पुग्यो

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा वृद्धि भएसँगै लगानीकर्ताको पुँजीमाथिको प्रतिफल अर्थात् रिटर्न अन इक्युटी (आरओई) मा उल्लेख्य सुधार देखिएको छ।

बैंकहरूले व्यवसाय विस्तार गर्दै गैरब्याज आम्दानीका स्रोतहरू बलियो बनाउँदा आरओई क्रमशः उकालो लाग्न थालेको हो।

बैंकहरूको प्रकाशित वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत आरओई ८.६८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ७.८६ प्रतिशत थियो।

यसले एक वर्षको अवधिमा लगानीकर्ताको प्रतिफलमा सुधार आएको संकेत गरेको छ। त्रैमासिक आधारमा हेर्दा पनि आरओई निरन्तर सुधारको क्रममा देखिन्छ। चालु आवको पहिलो त्रैमासमा ७.०४ प्रतिशत रहेको आरओई दोस्रो त्रैमासमा ८.२५ प्रतिशत पुगेको थियो भने तेस्रो त्रैमाससम्म आइपुग्दा थप वृद्धि भइ ८.६८ प्रतिशत कायम भएको छ।

नाफा वृद्धिसँगै आरओई सुधार

बैंकहरूको नाफा वृद्धि नै आरओई सुधारको मुख्य कारण बनेको देखिन्छ। चैतसम्म वाणिज्य बैंकहरूको खुद नाफा १९.३० प्रतिशतले बढेर ४९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा सीमित वृद्धि भए पनि सेवा शुल्क, कमिसन तथा व्यापारिक कारोबारबाट हुने आम्दानी उल्लेख्य रूपमा बढ्दा समग्र नाफा उकालो लागेको हो।

तथ्यांकअनुसार खुद ब्याज आम्दानी १.९९ प्रतिशतले मात्र बढ्दा शुल्क तथा कमिशन आम्दानी ११.२२ प्रतिशत र व्यापारिक आम्दानी ३६.१५ प्रतिशतले वृद्धि भएको छ। यसले बैंकहरू परम्परागत ब्याज आम्दानीभन्दा बाहिरका स्रोततर्फ केन्द्रित हुन थालेको देखाउँछ।

गत आवको चैतको तुलनामा चालु आवको चैतसम्म १३ वटा वाणिज्य बैंकहरूको आरओईमा सुधार आएको छ भने ७ वटा बैंकहरूको आरओई घटेको छ। आँकडाअनुसार आठ वटा बैंकहरूको आरओई १० प्रतिशतभन्दा माथि पुगेको छ। जसले ती बैंकहरूले लगानीकर्तालाई तुलनात्मक रूपमा राम्रो प्रतिफल दिन सकेको संकेत गर्छ। यता चार वटा बैंकहरूको आरओई भने ५ प्रतिशतभन्दा तल झरेको छ, जसले ती बैंकहरूको कार्यक्षमता अझै दबाबमा रहेको देखाउँछ।

पछिल्ला वर्षहरूमा बैंकहरूको प्रतिफल घट्दै गएको भन्दै लगानीकर्ताहरूले असन्तुष्टि जनाउँदै आएका थिए। सोही विषयमा नेपाल राष्ट्र बैंकसमक्ष ध्यानाकर्षणसमेत गराइएको थियो। चालु आवमा देखिएको आरओई सुधारले केही हदसम्म लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने संकेत गरेको छ।

ब्याजदर चक्र, कर्जा विस्तारको गति र समग्र आर्थिक गतिविधिको अवस्थाले आगामी त्रैमासहरूमा बैंकहरूको प्रतिफल कस्तो रहने भन्ने निर्धारण गर्ने देखिन्छ।

वाणिज्य बैंकहरूको आरओई (प्रतिशतमा)

बैंक २०८१ चैत २०८२ चैत
नविल बैंक ११.३०% १३.६६%
कुमारी बैंक १०.३५% १३.४०%
सानिमा बैंक १०.३५% १३.१३%
स्ट्यान्डर्ड चार्टर्ड बैंक १४.०३% १२.८७%
प्राइम कमर्सियल बैंक ९.५०% ११.९८%
माछापुच्छ्रे बैंक ८.३४% ११.९८%
एभरेष्ट बैंक १५.८२% १३.५६%
एनएमबी बैंक १०.४५% १०.४८%
नेपाल एसबीआई बैंक ८.१४% ९.२७%
आइएमई ग्लोबल बैंक ९.४८% ८.७१%
सिद्धार्थ बैंक ७.८१% ८.२७%
सिटिजन्स बैंक ५.८१% ७.३९%
राष्ट्रिय वाणिज्य बैंक ३.२०% ६.८७%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.७०% ६.३०%
लक्ष्मी सनराइज बैंक ५.२८% ५.८९%
कृषि विकास बैंक ६.८८% ४.६३%
प्रभु बैंक ७.४३% ३.३०%
हिमालयन बैंक १.८१% २.६९%
एनआईसी एसिया बैंक ०.७१% ०.७३%


प्रकाशित : सोमबार, वैशाख २१ २०८३१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend