बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सरकारसँग मिलेर डाटा सेन्टरको लक्ष्य पूरा गर्न ठूलो लगानीका लागि तयार छौँ : माइकल फोले

आइतबार, वैशाख २० २०८३
सरकारसँग मिलेर डाटा सेन्टरको लक्ष्य पूरा गर्न ठूलो लगानीका लागि तयार छौँ : माइकल फोले

'हामी वर्तमान पूर्वाधारका चुनौतीहरूलाई सम्बोधन गर्न, नयाँ क्षमताहरू विकास गर्न र सरकारसँग मिलेर डाटा सेन्टरको लक्ष्य पूरा गर्न ठूलो लगानीका लागि पूर्णरूपमा तयार छौँ।'

काठमाडौं- एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले नेपालको टेलिकम पूर्वाधार निकै कमजोर रहेको बताउँदै नेपालमा वातावरण तयार भए एनसेल थप लगानी गर्न तयार रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग उद्योगी व्यवसायीको छलफलमा फोलेले हाल टेलिकम पूर्वाधार कमजोर भएकै कारण अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्ने क्षमता कमजोर भएको बताएका छन्। 

उनका अनुसार एनसेलले पर्याप्त लगानी नेपालमा भित्र्याउन पाइरहेको छैन। सरकारी अवरोधले वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउन समस्या भइरहेको बताउँदै उनले लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरे।

'देशको टेलिकम पूर्वाधार अत्यन्तै कमजोर छ। यो अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक छैन। यसमा निकै कम लगानी भएको छ, यसले गर्दा यो प्रत्यक्ष वैदेशिक लगानीका लागि एउटा ठूलो बाधा बनाएको छ। जुनसुकै कारणले भए पनि आज हामीले भोगिरहेको यथार्थ यही हो। विगत कस्तो थियो भन्ने कुरामा मेरो हात छैन तर हामी अहिले भविष्य लेख्ने प्रयास गरिरहेका छौँ। हामी पछाडि परिरहेका छौँ र यो क्रम अझै जारी छ' उनले भने।

'यो केवल फाइभ जीको कुरा मात्र होइन, यो फाइबर पूर्वाधार, डाटा सेन्टर, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र स्याटेलाइट कनेक्टिभिटीको पनि विषय हो। यदि हामीले डिजिटल मुद्रा, क्रिप्टो, एआई, कम्प्युटर आधारित सेवा र ब्लकचेन जस्ता क्षेत्रमा फड्को मार्ने लक्ष्य राख्ने हो भने यसका लागि करोडौँ डलरको लगानी आवश्यक पर्छ। त्यसैले, अब हामीले लगानीलाई दोबर बनाउनुपर्छ र खर्च गर्न सुरु गर्नुपर्छ' फोलेले भने।

एनसेलको वित्तीय अवस्था निकै सबल भएको भन्दै उनले भने, 'हामी वर्तमान पूर्वाधारका चुनौतीहरूलाई सम्बोधन गर्न, नयाँ क्षमताहरू विकास गर्न र सरकारसँग मिलेर डाटा सेन्टरको लक्ष्य पूरा गर्न ठूलो लगानीका लागि पूर्णरूपमा तयार छौँ।'

आफूहरूको उद्देश्य नेपाललाई विश्वको डिजिटल नक्सामा एउटा उज्ज्वल केन्द्र बनाउनु र देशमा वैदेशिक लगानी आकर्षित गर्नु रहेको बताउँदै उनले भने, 'यसका लागि तपाईंहरू हामीमाथि पूर्ण भरोसा गर्न सक्नुहुन्छ। हाम्रा कुनै माग वा सर्तहरू छैनन्, तपाईं हामीलाई विश्वास गर्न सक्नुहुन्छ।' 


प्रकाशित : आइतबार, वैशाख २० २०८३१६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend