काठमाडाैं- नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ।
थापाथलीमा रहेकाे हस्पिटलले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता सेयरमध्ये ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता सेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो।
यसै सिलसिलामा हस्पिटलले बैशाख ११ गते काठमाडौं म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
योग्य संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ निर्देशिका अनुसार गोप्य शिलबन्दी आशयपत्र बुझाउनका लागि २०८३ साल वैशाख २१ गते साँझ ५ बजेसम्मको समय सीमा तोकिएको छ।
उक्त आशयपत्रहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा बुझाउनुपर्नेछ र प्राप्त बोलपत्रहरू वैशाख २२ गते साँझ ५ बजे नेप्सेकै कार्यालयमा खोलिनेछन्।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासन प्रक्रिया नेपाली स्वास्थ्य क्षेत्रकै लागि एक महत्वपूर्ण कदम मानिएको छ।
संस्थागत लगानीकर्ताहरूबाट प्राप्त हुने आशयपत्र र मागका आधारमा सेयरको ‘कट-अफ’ मूल्य तय गरिनेछ। जसले सर्वसाधारणका लागि जारी गरिने सेयरको मूल्य निर्धारण गर्ने आधार तय गर्नेछ।
