काठमाडाैं- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो कुल ८६ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई सहभागी गराएको हो।
कुल सेयरमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि छुट्याइएको छ।
जसमा सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का अति प्रभावित बासिन्दाले ३ लाख ४४ हजार कित्ता र सोही नगरपालिकाका अन्य वडाका बासिन्दाले ५ लाख १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि सुरक्षित गरिएको छ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने म्याद छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म तोकिएको छ भने स्थानीय बासिन्दाका लागि छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्मको समय सीमा निर्धारण गरिएको छ।
केयर रेटिङ नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी प्लस' रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
एनआईएमबि एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासनमा स्थानीय बासिन्दाले सल्लेरीस्थित विभिन्न बैंकका शाखा वा आस्बा सदस्य बैंकहरूबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाहरूले मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
