काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबारमा देखिएको अवान्छित गतिविधि नियन्त्रण गर्न कारोबार सदस्यहरू (ब्रोकर) लाई निर्देशन दिएकाे छ।
पछिल्लो समय केही ब्रोकरहरूले लगानीकर्ताको वास्तविक कोल्याटरल सीमाभन्दा बढीको खरिद आदेश प्रविष्ट गर्ने र बजारमा कृत्रिम माग देखाई नकारात्मक प्रभाव पार्ने कार्य गरेको पाइएपछि नेप्सेले यस्तो कदम चालेको हो।
नेप्सेका अनुसार धितोपत्र कारोबार सन्चालन विनियमावली २०७५ को विनियम ८ (१) को व्यवस्था विपरीत कतिपय सदस्यहरूले अस्थायी रूपमा खरिद आदेश प्रविष्ट गरी बजारमा चलखेल गरिरहेको देखिएको छ।
यस्ता क्रियाकलापले बजारको स्वच्छतामा आँच पुऱ्याउने भन्दै नेप्सेले प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हाे।
नयाँ निर्देशन अनुसार अब ब्रोकरहरूले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित ग्राहकबाट अग्रिम रूपमा लिनुपर्नेछ।
यसैगरी, लगानीकर्ताको कोलाटरल सीमाभन्दा बढी रकमको खरिद तथा बिक्री आदेश प्रविष्ट गर्ने र पछि त्यसलाई रद्द गर्ने उद्देश्यले प्रणाली उपलब्ध गराउने कार्य नगर्न र नगराउन समेत अनुराध गरेकाे छ।
नेप्सेको यो निर्णयसँगै बजारमा देखिने गरेको 'फेक डिमान्ड' नियन्त्रण हुने र वास्तविक लगानीकर्ताहरूलाई मात्र बजारमा सहभागी गराउन मद्दत पुग्ने विश्वास लिइएको छ।
