काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकको नाफा यस पटक २.९३ प्रतिशतले सामान्य गिरावट देखिएको हो।
नाफा घटे पनि बैंकको समग्र वित्तीय संरचनामा जोखिम व्यवस्थापन र सम्पत्ति गुणस्तर सुधारतर्फ भने सकारात्मक संकेत देखिएको छ। विशेषगरी खुद निष्क्रिय कर्जा उल्लेख्य रूपमा घटेर ०.६९ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष १.७० प्रतिशत थियो। निष्क्रिय कर्जा अनुपात भने लगभग स्थिर रहँदै ४.९७ प्रतिशत कायम छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। तर खुद फि तथा कमिशन आम्दानी २ अर्ब ६० करोड ७१ लाख रुपैयाँमा बढेको छ, जसले ब्याज आम्दानी घटेको प्रभाव केही हदसम्म सन्तुलन गरेको देखिन्छ। सञ्चालन नाफा ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ रहेको छ। बैंक कर्जा विस्तारमा आक्रामक देखिएको छ। चैत मसान्तसम्म कर्जा प्रवाह ४ खर्ब ३९ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ६ खर्ब २६ अर्ब रुपैयाँमा विस्तार भएको छ। निक्षेप वृद्धि कर्जाभन्दा तीव्र देखिँदा तरलता स्थिति सहज बनेको छ।
ब्याजदर संरचनामा पनि उल्लेख्य परिवर्तन आएको छ। स्प्रेड दर ३.३० प्रतिशत रहेको छ भने आधार दर ६.३८ प्रतिशतबाट घटेर ४.९५ प्रतिशतमा झरेको छ। त्यस्तै, निक्षेपको औसत लागत ४.६५ प्रतिशतबाट घटेर ३.५८ प्रतिशत कायम भएको छ, जसले लागत दबाब केही कम भएको संकेत गर्छ।
जोखिम व्यवस्थापनतर्फ बैंकको प्रदर्शन तुलनात्मक रूपमा बलियो देखिएको छ। खराब कर्जाको तुलनामा प्रोभिजनिङ ११७.०७ प्रतिशत पुगेको छ, जसले सम्भावित नोक्सानी धान्न बैंकसँग पर्याप्त सुरक्षा व्यवस्था रहेको देखाउँछ। पुँजीगत सूचकहरूमा बैंकको पुँजी पर्याप्तता अनुपात १२.०६ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.७१ प्रतिशत रहेको छ। सीडी रेसियो ७१.१३ प्रतिशत रहेकाले बैंकसँग थप कर्जा विस्तारका लागि पर्याप्त तरलता रहेको देखिन्छ।
प्रतिफल सूचकमा प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ र आरओई ८.७१ प्रतिशत कायम छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ रहेको छ भने कुल रिटेन्ड अर्निङ ३ अर्ब ५५ लाख रुपैयाँ पुगेको छ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजीका आधारमा बैंकको वार्षिकीकृत लाभांश क्षमता करिब १०.५० प्रतिशत रहेको देखिन्छ। समग्रमा, ग्लोबल आइएमई बैंक लिमिटेड को नाफामा सामान्य दबाब देखिए पनि जोखिम व्यवस्थापन, तरलता स्थिति र सम्पत्ति गुणस्तरमा भने सुधार भएको वित्तीय विवरणले संकेत गरेको छ।
