सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नयाँ नेतृत्व र व्यवस्थापनपछि नबिल बैंकमा देखिएको वित्तीय सुधार, नाफामा उछाल, सबै सूचक सकारात्मक

मंगलबार, वैशाख १५ २०८३
नयाँ नेतृत्व र व्यवस्थापनपछि नबिल बैंकमा देखिएको वित्तीय सुधार, नाफामा उछाल, सबै सूचक सकारात्मक

काठमाडौं- नबिल बैंक लिमिटेडमा नेतृत्व तथा व्यवस्थापन पुनर्संरचनापछि वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ अर्ब ५ करोड १४ लाख रुपैयाँको तुलनामा ३३.९१ प्रतिशतले वृद्धि हो।

गत जेठमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीको नेतृत्वमा सञ्चालन दक्षता, जोखिम व्यवस्थापन र वित्तीय अनुशासनमा केन्द्रित सुधारले नतिजामा सकारात्मक प्रभाव पारेको देखिएको छ। त्यस्तै, अध्यक्षमा निर्वाण चौधरी र संस्थापक सेयरधनीतर्फ सञ्चालकमा अनिलकेशरी शाहको प्रवेशपछि बैंकको रणनीतिक निर्णय प्रक्रिया थप सक्रिय बनेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४० करोड ५० लाख रुपैयाँले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ। खुद फि तथा कमिशन आम्दानी पनि २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँमा पुगेको छ। सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। यद्यपि, नाफा वृद्धिको ठूलो हिस्सा इम्पेयरमेन्ट चार्जमा आएको गिरावटबाट प्रभावित देखिन्छ। इम्पेयरमेन्ट चार्ज २ अर्ब २९ करोड ३२ लाख रुपैयाँबाट घटेर ४७ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा बढाउन प्रत्यक्ष योगदान दिएको हो।

बैंकको निष्क्रिय कर्जा अनुपात ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा १.५९ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा सीमित भएको छ। गैर-बैंकिङ सम्पत्ति पनि घटेर ३ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ, जसले सम्पत्ति गुणस्तर सुधारतर्फ संकेत गर्छ।

तर, ब्याजदर संरचनामा आएको दबाबले मार्जिनमा असर पारेको देखिन्छ। स्प्रेड दर ३.५७ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा झरेको छ भने आधार दर ५.९७ प्रतिशतबाट घटेर ४.६५ प्रतिशतमा आएको छ। यसले प्रतिस्पर्धात्मक बजारमा बैंकको ब्याज आम्दानीमा दीर्घकालीन दबाब रहन सक्ने संकेत गरेको छ।

व्यवसाय विस्तारतर्फ बैंक आक्रामक देखिएको छ। चैत मसान्तसम्म कर्जा प्रवाह ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाँमा विस्तार भएको छ। कर्जा-निक्षेप अनुपात ७९.५० प्रतिशत रहेको छ। सीडी अनुपात तुलनात्मक रूपमा उच्च रहे पनि बैंकसँग तरलता व्यवस्थापनका लागि पर्याप्त निक्षेप आधार रहेको देखिन्छ।

पुँजी संरचनामा बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ। पुँजी पर्याप्तता अनुपात १२.५१ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.६९ प्रतिशत कायम छ, जसले नियामकीय सीमाभित्र रहे पनि कर्जा विस्तार क्षमतामा केही सीमितता देखाउँछ।

प्रतिफल सूचकहरूमा पनि सुधार देखिएको छ। प्रतिसेयर आम्दानी (इपीएस) २५.०५ रुपैयाँबाट बढेर ३३.०२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ कायम भएको छ। मूल्य आम्दानी अनुपात १६.०५ गुणा र आरओई १३.६६ प्रतिशत रहेको छ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९० करोड २ लाख रुपैयाँ पुगेको छ भने कुल रिटेन्ड अर्निङ ४ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ कायम भएको छ। यस आधारमा बैंकको वार्षिकीकृत लाभांश क्षमता २१.१६ प्रतिशतसम्म पुगेको देखिन्छ।

नयाँ नेतृत्वपछि नबिल बैंकमा नाफा, जोखिम व्यवस्थापन र सम्पत्ति गुणस्तरमा सुधार देखिए पनि ब्याजदर मार्जिन घट्नु, स्प्रेड संकुचन र प्रतिस्पर्धात्मक दबाब जस्ता चुनौती भने अझै कायम रहेका छन्।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३०८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend