सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नाफा घट्दै, निष्क्रिय कर्जा बढ्दा दबाबमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

मंगलबार, वैशाख १५ २०८३
नाफा घट्दै, निष्क्रिय कर्जा बढ्दा दबाबमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकको नाफा घट्दै गएको र जोखिम सूचकहरूमा दबाब बढ्दै गएको देखाएको छ।

बैंकले चैत मसान्तसम्म ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ३०.६९ प्रतिशतले कम हो। नाफामा आएको यो गिरावटमा खुद ब्याज आम्दानी घट्नु र सञ्चालन खर्च बढ्नु मुख्य कारणका रूपमा देखिएका छन्।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब ३१ करोड रुपैयाँबाट घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने सामान्य सुधार हुँदै १ अर्ब ६३ करोड ११ लाख रुपैयाँ पुगेको छ।

बैंकको वित्तीय अवस्थालाई थप दबाबमा पार्ने प्रमुख पक्ष निष्क्रिय कर्जामा आएको वृद्धि हो। निष्क्रिय कर्जा अनुपात ६.०६ प्रतिशतबाट बढेर ८.४१ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा पनि १.५३ प्रतिशतबाट २.२८ प्रतिशतमा उक्लिएको छ। यसैका कारण बैंकले ३ अर्ब ५ करोड ६४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याउनुपरेको छ, जसले नाफालाई थप प्रभावित गरेको छ।

ब्याजदर अन्तर (स्प्रेड रेट) ३.४५ प्रतिशतबाट घटेर २.७९ प्रतिशतमा झर्नु र आधार दर ५.९९ प्रतिशतबाट ४.८५ प्रतिशतमा खुम्चिनुले पनि आम्दानी क्षमतामा दबाब सिर्जना गरेको देखिन्छ।

प्रमुख प्रतिफल सूचकहरूमा पनि कमजोरी देखिएको छ। प्रतिसेयर आम्दानी १७.७४ रुपैयाँबाट घटेर १२.२९ रुपैयाँमा झरेको छ भने मूल्य आम्दानी अनुपात १७.१४ गुणा कायम भएको छ।

यद्यपि बैंकको निक्षेप संकलन ५ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ र सीडी रेसियो ६८.३७ प्रतिशत रहेको छ, जसले तरलता स्थिति सहज रहेको संकेत गर्छ। तर पुँजी पर्याप्तता अनुपात १२.४१ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.७० प्रतिशत रहनुले कर्जा विस्तार क्षमता सीमित देखिएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ६४ करोडभन्दा बढीले ऋणात्मक रहेको छ भने सञ्चित घाटा ३ अर्ब १० करोड ३१ लाख रुपैयाँ पुगेको छ। ३ अर्बभन्दा बढी नाफा आर्जन गरे पनि वितरणयोग्य र सञ्चित नाफा ऋणात्मक रहनुले बैंकको समग्र वित्तीय स्वास्थ्यमा चुनौती कायम रहेको संकेत गरेको छ।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend