सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नाफा र ईपीएस दुवैमा सुधार देखिएको माछापुच्छ्रे बैंक, इम्पेयरमेन्ट चार्ज घट्दा वित्तीय अवस्था सुदृढ

मंगलबार, वैशाख १५ २०८३
नाफा र ईपीएस दुवैमा सुधार देखिएको माछापुच्छ्रे बैंक, इम्पेयरमेन्ट चार्ज घट्दा वित्तीय अवस्था सुदृढ

माछापुच्छ्रे बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी (इपीएस) दुवैमा उल्लेख्य सुधार देखिएको छ।

काठमाडौं‍- माछापुच्छ्रे बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी (इपीएस) दुवैमा उल्लेख्य सुधार देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब १० करोड २६ लाख रुपैयाँको तुलनामा ५०.४३ प्रतिशतले बढी हो।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा भएको सामान्य वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको गिरावट प्रमुख कारणका रूपमा देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा पनि १६.६४ प्रतिशतले वृद्धि भएको छ।

इम्पेयरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा सुधारिएको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा रहेको छ।

नाफासँगै बैंकको इपीएस पनि ६ रुपैयाँ १४ पैसाले बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ। चैत मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ।

३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी चुक्ता पूँजी १५ अर्ब ८ करोड रुपैयाँ पुर्‍याएको बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित रहेको छ। चैत मसान्तसम्म बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend