काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले १४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १५ करोड ६७ लाख रुपैयाँको तुलनामा १०.४९ प्रतिशतले कम हो।
बैंकको नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा आएको गिरावट हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेको छ। यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ८.५३ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा झनै तीव्र रूपमा ४७.८६ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५ करोड रुपैयाँबाट घटेर २ अर्ब ९१ करोड रुपैयाँमा झरे पनि त्यसले नाफामा पर्याप्त सुधार ल्याउन सकेको देखिँदैन।
नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा प्रतिसेयर १६ पैसा घटेर १ रुपैयाँ २५ पैसामा सीमित भएको छ। बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
त्यस्तै, मूल्य आम्दानी अनुपात २९२.०४ गुणा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा कायम भएको छ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
