सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कुमारी बैंकको ४ अर्ब १७ करोड रुपैयाँ खुद नाफा, इम्पेयरमेन्ट चार्ज घट्दा वित्तीय सूचकमा उछाल

मंगलबार, वैशाख १५ २०८३
कुमारी बैंकको ४ अर्ब १७ करोड रुपैयाँ खुद नाफा, इम्पेयरमेन्ट चार्ज घट्दा वित्तीय सूचकमा उछाल

बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा १३६१.७६ प्रतिशतको उल्लेख्य वृद्धि हुँदै ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा तथा प्रमुख वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा १३६१.७६ प्रतिशतको उल्लेख्य वृद्धि हुँदै ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८० प्रतिशतले बढ्दै ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँबाट ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि २२.०८ प्रतिशतले वृद्धि भई १० अर्ब ४९ करोड ५९ लाख रुपैयाँबाट १२ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ।

बैंकको नाफा वृद्धिमा सबैभन्दा ठूलो योगदान इम्पेयरमेन्ट चार्जमा आएको गिरावटले दिएको देखिन्छ। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ६९.६८ प्रतिशतले घट्दै ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा झरेको छ। यसका कारण सञ्चालन मुनाफा ६५७.८० प्रतिशतले बढेर ८५ करोड ८३ लाख रुपैयाँबाट ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ।

यद्यपि बैंकको वितरणयोग्य मुनाफा अझै ऋणात्मक अवस्थामा रहेको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब ५० करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा चालु आवमा घटेर १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मकमा सीमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी १.४५ रुपैयाँबाट उल्लेख्य वृद्धि हुँदै २१.२४ रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात ६.९८ प्रतिशतबाट सामान्य घटेर ६.९४ प्रतिशत कायम भएको छ। प्रतिसेयर नेटवर्थ १५८.५३ रुपैयाँ तथा बेस रेट ५.३५ प्रतिशत रहेको बैंकले जनाएको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म बैंकले २ खर्ब ७३ अर्ब २१ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिसम्म बैंकको कुल सम्पत्ति ४ खर्ब ७४ अर्ब ३० करोड ६८ लाख रुपैयाँ पुगेको छ।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend