काठमाडौं- पहिलो बजेटबाट नीतिगत रुपान्तरणसँगै केही सिग्नेचर विकार परियोजना घोषणाको तयारीमा सरकार छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले फ्ल्यागसिप परियोजना सिफारिस गर्न मन्त्रालय तथा अन्य निकायलाई निर्देशन दिइसकेका छन्।
अर्थमन्त्रीको निर्देशनअनुसार केही निकाय तथा पदाधिकारीहरूले विकल्पसहितका केही परियोजनाको फाइल बुझाइरहेका छन्। मन्त्रालय निकट स्रोतका अनुसार सुरुमै तोकिएको मापदण्डमा रहेर परियोजनासहितको अन्य सुधारका सिफारिसको रिपोर्ट पुगेको छ।
मन्त्री वाग्लेले अर्थतन्त्रलाई नै उठाउने खालका केही परियोजना सुरु गर्न खोजेको र त्यहीअनुसारको सिफारिस गर्न भनेका थिए। सोहीअनुसार गएको सिफारिसबाट मन्त्री वाग्लेले परियोजना छान्ने छन्।
अर्थतन्त्रको ड्राइभर बनाउन खोजिएका क्षेत्रलाई समेट्नेगरी परियोजना छनोट गर्ने तयारी मन्त्री वाग्लेको छ। सूचना प्रविधि, भौतिक पूर्वाधार, सहरी पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्र समेटिनेछन्।
यसरी छानिएका परियोजनाको वित्तीय स्रोतको पनि विविधता हुनेछ। सार्वजनिक, सार्वजनिक निजी साझेदारी लगायतका मोडल हुनेछन्।
परियोजनाको आवश्यकता, पुँजी र रेडिनेसका आधारमा छनोट हुनेछ। त्यसरी छानिएका आयोजनालाई विकास बण्ड जारी गरेर विकास ऋणपत्रको माध्यमबाट स्रोत व्यवस्थापन गर्ने तयारी छ। राजस्वमा निर्भरभन्दा वैकल्पिक अभ्यास हुनेछ।
परियोजनाको छनोटको मुख्य स्रोत पछिल्ला दुई लगानी सम्मेलनमा सोकेस भएका, योजनामा छानिएका तथा विभिन्न समयमा अध्ययन तथा तयारीको चरण पार भएको हुने छ।
यसरी छानिएपछि बजेटमा समावेश हुनेछन्। यस्ता आयोजनालाई नियमित बजेटरीभन्दा गैरबजेटरी फ्रेमवर्कबाट सञ्चालनको तयारी छ।
विशेषगरी राजस्वको न्यून वृद्धि तथा उच्च दायित्वको चापलाई ध्यान दिँदै सार्वजनिक-निजी साझेदारी मोडल तथा सार्वजनिक स्रोतको उपयोगितामा ध्यान दिइने छ।
अहिले बैंकिङ प्रणालीमा रहेको स्रोत तथा सेयरमा लगानी गर्ने नेपालीको आकर्षणलाई दीर्घकालीन विकासमा परिचालन गर्ने तयारी पनि रहेको छ।
