काठमाडाैं- एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ। विवरण अनुसार याे अवधिमा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो नाफा गत वर्षको सोही अवधिको तुलनामा केही घटेको भए तापनि बैंकको अन्य वित्तीय सूचकहरू भने बलियो देखिएका छन्।
बैंकको वितरणयोग्य मुनाफामा भने राम्रो सुधार देखिएको छ। चैत्र मसान्तसम्ममा बैंकको कुल वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। जुन गत वर्षको सोही अवधिमा ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ रहेको थियो। यस अनुसार बैंकको लाभांश क्षमतामा सकारात्मक प्रभाव पर्ने देखिन्छ।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी समीक्षा अवधिमा ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको निष्क्रिय कर्जामा सुधार हुँदै ०.६१ प्रतिशतमा झरेको छ। जुन गत वर्षको यसै अवधिमा ०.६४ प्रतिशत थियो। यस्तै बैंकको प्रतिसेयर आम्दानी ३२.३५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २ सय ४४.२७ रुपैयाँ कायम भएको छ।
बैंकको आधार दर ४.४८ प्रतिशतमा रहेकाे छ भने ब्याजदर ३.१२ प्रतिशत रहेको छ। १३ अर्ब ७२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५० करोड रुपैयाँ सन्चित छ।
