काठमाडाैं- सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि नयाँ सामूहिक लगानी कोष 'सानिमा इक्विटी फण्ड २' को इकाईहरू निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो १० वर्षे अवधिको बन्दमुखी योजना हो। जसको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ।
१ अर्ब रुपैयाँ बराबरकाे क्यापिटलले कुल १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यसमध्ये कोष प्रबर्धक सानिमा बैंकका लागि १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई र योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि २ प्रतिशत अर्थात् २० लाख इकाई सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ। यो निष्काशन छिटोमा बैशाख २९ गते बन्द हुनेछ भने माग अनुसार आवेदन नपरेको खण्डमा जेठ ७ गतेसम्म समय थप हुन सक्नेछ। रेटिङकाे सन्दर्भमा, केयर रेटिङ नेपालले कोष प्रबर्धकलाई 'केयर एनपी सिंगल ए माइनस' र इक्रा नेपालले योजना व्यवस्थापकलाई 'इक्राएनपी एएमसी क्वालिटि ३ प्लस' रेटिङ प्रदान गरेका छन्।
यस फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र 'मेरो सेयर' अनलाइन सफ्टवेयर मार्फत सहजै आवेदन दिन सक्नेछन्।
