काठमाडाैं- रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले बैशाख २९ गतेदेखि सामूहिक लगानी कोष अन्तर्गत 'रिलायबल समृद्धि योजना २' को इकाईहरू सार्वजनिक निष्कासन गर्ने भएको छ।
१० वर्षको अवधि रहने यो बन्दमुखी योजनाका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गर्न लागेको हो।
कुल निष्कासन गरिने इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक र योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ। जसमा १ करोड ४० लाख इकाई कोष प्रबर्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि छुट्ट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यो निष्कासन छिटोमा जेठ १ गते बन्द हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा जेठ १२ गतेसम्म समय थप हुनेछ। केयर रेटिङ नेपालले यस योजनाको कोष प्रवर्धकलाई 'केयर एनपी सिंगल ए माइनस' र योजना व्यवस्थापकलाई 'केयर एनपी एएमसी क्वालिटि ४ प्लस' रेटिङ प्रदान गरेको छ।जसले संस्थाको सबल अवस्थालाई संकेत गर्दछ।
यस फण्डको बिक्री प्रबन्धकको जिम्मेवारी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल आफैले सम्हालेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै 'मेरो सेयर' मार्फत अनलाइनबाट सि-आस्बा प्रणाली प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।
