काठमाडाैं- स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
कम्पनीले आफ्नो कुल ९३ करोड ७५ लाख रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता सेयरमध्ये बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ।
यसअघि नै स्थानीयलाई ९ लाख ३७ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा रहेकाहरूलाई ९३ हजार ७५० कित्ता, सामूहिक लगानी कोषलाई ४६ हजार ८७५ कित्ता र कर्मचारीहरूलाई १८ हजार ७५० कित्ता सेयर वितरण भइसकेको छ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन प्रक्रिया छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बन्द हुने तालिका रहेको छ। इक्रा नेपालले यो निष्कासनलाई 'इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस' प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीले १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ पर्ने देखिएको छ भने यसको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष र डिस्काउण्टेड अवधि १५.७७ वर्ष अनुमान गरिएको छ।
यस निष्कासनको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र 'मेरो सेयर' मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
