काठमाडाैं- सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार बैंकको खुद नोक्सानी गत वर्षको तुलनामा केही घटेको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंक ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। गत वर्षको सोही अवधिमा बैंकले ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।
बैंकको ब्याज आम्दानीमा भएको सामान्य वृद्धिका कारण नोक्सानी कम गर्न मद्दत पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत र कुल सञ्चालन आम्दानी ७.७० प्रतिशतले बढेको छ।
बैंकको लागि सबैभन्दा सकारात्मक पक्ष यसको निष्क्रिय कर्जा मा आएको सुधार हो। गत वर्ष ६.९२ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर ३.३५ प्रतिशतमा झरेको छ।जसले गर्दा बैंकको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँबाट घटेर ९७ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ।
वित्तीय सूचकहरूका अनुसार बैंकको प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १ सय ३ रुपैयाँ ७५ पैसा रहेको छ।
साथै, बैंकको वितरणयोग्य मुनाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। ५२ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सालपा विकास बैंकको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँ सन्चित छ।
बैंकले चैत मसान्तसम्म १ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ।
