सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल चिया विकास निगमले आईपीओमार्फत पुँजी जुटाउँदै, अधिकांश वित्तीय सूचक सन्तुलित

बगान विस्तार र नयाँ परियोजनामा लगानीको योजना

शुक्रबार, वैशाख ११ २०८३
नेपाल चिया विकास निगमले आईपीओमार्फत पुँजी जुटाउँदै, अधिकांश वित्तीय सूचक सन्तुलित

काठमाडौं- चर्चित चिया ब्राण्ड टोकला उत्पादन गर्ने नेपाल चिया विकास निगमले सर्वसधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ।

कम्पनीले गराएको रेटिङमा इक्रा नेपालले 'ए प्लस' दिएको छ। सवल क्रेडिट प्रोफाइलसहितको रेटिङ कम्पनीले पाएको छ। 

कम्पनीका प्राय सबै सूचक सन्तुलित अवस्थामै रहेका छन्। चिया बगान विस्तार र एड्भेन्चर पार्कजस्ता परियोजनामा लगानी बढाउने योजना बताएको छ। यही योजनामा आवश्यक थप लगानी गर्न भन्दै आईपीओबाट पुँजी जुटाउन खोजेको छ। 

‘टोकला’ ब्रान्डको स्थापित बजार र सक्षम व्यावसायिक घराना त्रिवेणी समूहको व्यवस्थापनलाई कम्पनीको बलियो पाटोका रुपमा रेटिङले व्याख्या गरेको छ। सरकारी स्वामित्व पनि कायमै रहेका कारणले यसको स्थायित्व कायम हुने अर्को बलियो पक्ष रहेको छ। 

ऋणमुक्त अवस्थामा रहेको कम्पनीको पुँजी संरचा सवल छ। आईपीओपछि थप सुदृढ हुने विश्वास छ। पछिल्ला पाँच आर्थिक वर्षमा  वित्तीय सूचकांकले कम्पनीको आधारभूत संरचना बलियो रहेको संकेत गरेका छन्।

ऋण व्यवस्थापन, तरलता र आम्दानी पुनः उकालो लागेको छ। कम्पनीको सञ्चालन आम्दानी २०८० मा ९७ करोडमा सीमित भएको थियो। तर फेरि २०८१ मा बढेर १ अर्ब नाघटेको छ। 

करपछिको नाफा उतारचढाव भएपनि लागत नियन्त्रण र सञ्चालन किफायतितर्फ कम्पनीको प्रयास देखिन्छ। ऋण व्यवस्थापनमा उल्लेख्य सुधार  देखिएको छ। डेब्ट टु नेटवर्थ अनुपात गत वर्षसम्म शून्यमा पुगेको छ। यसले कम्पनीलाई अत्यन्त कम वित्तीय जोखिम भएको अवस्थामा पुर्‍याएको छ।

बाह्य दायित्वहरू पनि निरन्तर घट्दै गएकोले कम्पनीको समग्र वित्तीय स्थायित्व थप मजबुत बनेको छ। तरलता सूचक  ४.३ पुगेको छ, जुन छोटो अवधिका दायित्वहरू धान्न कम्पनी पूर्णरूपमा सक्षम रहेको भन्ने हो। 

'ए प्लस'  रेटिङले कम्पनीलाई मध्यम जोखिम तर विश्वसनीय कम्पनीको रूपमा प्रस्तुत गरेको छ। बलियो ब्रान्ड, न्यून ऋण र स्थिर संरचना कम्पनीका सकारात्मक पक्ष हुन् भने प्रतिस्पर्धा र सञ्चालन जोखिमहरू ध्यान दिनुपर्ने पक्षका रूपमा देखिएका छन्। आईपीओमार्फत उठ्ने पुँजी प्रभावकारी रूपमा प्रयोग गरी उत्पादन क्षमता र नाफा दर सुधार गर्न सके कम्पनीको आगामी वित्तीय प्रदर्शन थप बलियो हुने अपेक्षा गरिएको छ।

सन् १९७४ मा सार्वजनिक कम्पनीका रुपमा चिया विकास निगम स्थापना भएको थियो। सन् २००० मा यो कम्पनीकोबहुमत स्वामित्व त्रिवेणी समूहले लियो र निजी कम्पनीमा रुपान्तरण भयो। १ हजार ८७ हेक्टर क्षेत्रफलमा बगान रहेको कुल जग्गा भने १ हजार ६१८ हेक्टर रहेको छ। नेपालकै चर्चित चियाको ब्रान्ड टोकला उत्पादन गर्ने यो कम्पनीले विदेशमा पनि निर्यात गर्छ। कम्पनीमा ६५ प्रतिशत त्रिवेणी समूहको लगानी छ भने बाँकी ३५ प्रतिशत सरकारको लगानी छ।


प्रकाशित : शुक्रबार, वैशाख ११ २०८३१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend