काठमाडाैं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेकाे छ। प्रकाशित विवरण अनुसार लघुवित्तको नाफामा वृद्धि भएको देखिएकाे छ।
समीक्षा अवधिमा संस्थाले ४ करोड ३ लाख २७ हजार ५७७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलना करिब ४८.७५ प्रतिशतले बढी हो। गत वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ७१ लाख १२ हजार ९३६ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। संस्थाको खुद ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ।
यस अवधिमा लघुवित्तले १३ करोड ३४ लाख ९० हजार ६२८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड ९२ लाख ४८ हजार १२६ रुपैयाँ रहेको थियो। संस्थाको सन्चालन मुनाफा पनि ३ करोड ८७ लाखबाट बढेर ५ करोड ५३ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
नाफामा आएको सुधारसँगै संस्थाको प्रतिसेयर आम्दानी मा पनि वृद्धि भएको छ। हाल संस्थाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४७ पैसा कायम भएको छ भने वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६२ पैसा रहने प्रक्षेपण गरिएको छ।
संस्थाको प्रतिसेयर नेटवर्थ १ सय ६८ रुपैयाँ ९१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.३१ गुणा रहेको छ।
पुँजीगत आधारतर्फ लघुवित्तको चुक्ता पुँजी १३ करोड २३ लाख ५८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ९१ लाख रुपैयाँ संचित छ। संस्थाले यस अवधिमा ५८ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर कुल २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
याे अविधमा लघुवित्तकाे खराब कर्जा को अनुपात भने गत वर्षको ३.०१ प्रतिशतबाट बढेर ३.४१ प्रतिशत पुगेको छ।
