काठमाडाैं- सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार बैंकको व्यवसायिक वृद्धि र मुनाफामा सुधार देखाएको छ। समीक्षा अवधिमा बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो। गत वर्ष बैंकको नाफा १ अर्ब ६५ करोड रुपैयाँमा सीमित थियो।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले वृद्धि हुनु र इम्पेरमेन्ट चार्जमा आएको गिरावट प्रमुख कारण हुन्।
यस अवधिमा खुद फि तथा कमिसन आम्दानी १०.०५ प्रतिशत, खुद सन्चालन आम्दानी २०.४१ प्रतिशत र सन्चालन मुनाफा ४७.५० प्रतिशतले बढेका छन्। इम्पेरमेन्ट चार्ज १ अर्ब ४० करोड ४३ लाख रुपैयाँबाट घटेर १ अर्ब ३६ करोड ७७ लाख रुपैयाँमा झरेको छ।
वित्तीय सूचकहरूमा सुधार आएसँगै प्रतिसेयर आम्दानी पनि २३ रुपैयाँ ७ पैसा पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६ रुपैयाँ ७४ पैसाको वृद्धि हो। बैंकको प्रतिसेयर नेटवर्थ १ सय ७९ रुपैयाँ ५५ पैसा र मूल्य आम्दानी अनुपात १५.२७ गुणा कायम भएको छ।
त्यस्तै, बैंकसँग २ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा र २१ रुपैयाँ २ पैसा वितरणयोग्य प्रतिसेयर आम्दानी रहेको छ।
हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ भने जगेडा कोषमा १० अर्ब ८० करोड ४७ लाख रुपैयाँ सन्चित छ। व्यवसाय विस्तारका क्रममा बैंकले चैत मसान्तसम्म २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
