काठमाडौं- नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको निर्जीवन बीमा व्यवसायको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार यस अवधिमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनी र लघु बीमकहरुले कुल ३७ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १३.८६ प्रतिशतले वृद्धि भएको छ। बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोहि अवधिमा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए।
यो अवधिमा कम्पनीहरुले कुल २५ लाख ८४ हजार ६ सय ४९ वटा बीमालेखहरु जारी गरेका छन्। व्यावसायिक रुपमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।
त्यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७४ करोड ३० लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १२ करोड ९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
कुल जारी बीमालेख संख्याका आधारमा भने युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ जसले ३ लाख ५३ हजार ७ सय ३८ वटा बीमालेख जारी गर्दै २ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
यसैगरी एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड ५ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १० करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ८ करोड १९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् भने नेपाल इन्स्योरेन्सको संकलन ९८ करोड १२ लाख रुपैयाँ रहेको छ।
त्यस्तै दी ओरिएन्टलले २ अर्ब ४२ करोड ६८ लाख र नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
लघु बीमा व्यवसाय गर्ने बीमकहरुले पनि चैत मसान्तसम्म कुल ९८ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
यस क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी २७ करोड ८२ लाख रुपैयाँ संकलन गर्दा नेपाल माइक्रोले २४ करोड ८९ लाख, स्टार माइक्रोले २३ करोड र ट्रस्ट माइक्रोले २२ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
यस अवधिमा कुल ३ लाख ७९ हजार ७ सय ६० वटा लघु बीमालेख जारी भएका छन्।
