काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज नेप्से मा बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार सेयर निष्कासनका लागि सम्झौता गर्ने कम्पनीहरूको संख्या सात पुगेको छ।
नेप्सेले यसअघि कायम पाँच कम्पनीको सूचीलाई अध्यावधिक गर्दै थप दुई नयाँ कम्पनीसँगको सम्झौता सार्वजनिक गरेको हो।
यसपटक थपिएका नयाँ कम्पनीहरूमा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन्। यति ब्रुअरीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा ८ लाख ६० हजार ८०० कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि प्रस्ताव गरेको छ भने नेपाल चिया विकास निगमले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
यसअघि नै सूचीकृत भएका कम्पनीहरूमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख १६ हजार ४८० कित्ता र जगदम्बा स्पिनिङ मिल्स लिमिटेडले १८ लाख कित्ता सेयरका लागि सम्झौता गरिसकेका छन्। त्यसैगरी, टाइम फर्मास्युटिकल्स लिमिटेडले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्स लिमिटेडले १५ लाख कित्ता र पूर्वाञ्चल ल्युव आयल लिमिटेडले ६ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याएका छन्। यी सबै कम्पनीहरूको सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
यी सातवटै कम्पनीहरूले बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग औपचारिक सहकार्य गरेका हुन्।
यस प्रक्रियाअनुसार सुरुमा योग्य संस्थागत लगानीकर्ताहरूले सेयरको मूल्य प्रस्ताव गर्नेछन् र सोही बोलपत्रका आधारमा सेयरको अन्तिम मूल्य निर्धारण गरिनेछ। यसरी तय भएको मूल्यका आधारमा आगामी दिनमा सर्वसाधारणका लागि सेयर निष्कासनको प्रक्रिया अघि बढ्नेछ।
