काठमाडौं- चालु आर्थिको वर्षको १० महिनामा नेपालको वस्तु निर्यात २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा १८ प्रतिशतले धेरै हो। आयातको तुलनामा थोरै भएपनि निर्यातको आँकडा दश महिनामै दुई खर्ब पार गरेको छ।
नेपालको निर्यात बढ्नुमा नेपाली उत्पादनको भन्दा पनि विदेशबाट ल्याएर नेपालमा प्रशोधन गरिने खानेतेल हो। विशेषगरी भारतमा उच्च माग भएको खानेतेल नेपालबाट निर्यात हुन्छ। भारतीय कुल आयातमा सानो अंश भए पनि नेपालको निर्यात बास्केटमा यसको हिस्सा उच्च हुँदै आएको छ।
पछिल्लो समय भातरले प्रशोधित तेलको भन्सारमा कमी गरेको तथा अमेरिकासँग व्यापार सम्झौता भएपनि नेपालबाट निर्यात हुने तेलको अंश भने घटेको छैन। चालु आर्थिक वर्षको १० महिनासम्म ९० अर्ब ७१ करोड रुपैयाँको भटमासको तेल भारतमा निर्यात भएको छ।
नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु नै यही तेल हो। नेपालमा उत्पादन नभएपनि यसको हिस्सा उच्च रहेको छ। कुल २ खर्ब २२ अर्बको निर्यात हुँदा भटमासको तेलमात्र करिब ४५ प्रतिशत हिस्सा रहेको छ। त्यस्तै सुर्यमूखीको तेल पनि यो बीचमा ६ अर्बको निर्यात भएको छ।
खरिब १ खर्ब रुपैयाँको तेलमात्र निर्यात भएको छ। उत्पादन तथा मूल्यश्रृंखला विकास नभएकाले यसो निर्यातको दिगोपनामा प्रश्न उठ्दै आएको छ। तर नेपालका केही तेल निर्यातकहरू भने त्यति धेरै चिन्तित छैनन्। किनभने यो भारतका लागि पनि रणनीतिक सौदा हो।
भारतले तेलको आयात गर्नैपर्छ। जसका लागि भारतले अरु देशबाट आयात गर्दा डलर खर्च गर्नुपर्छ। नेपालबाट आयात गर्दा भने उसले भारुमै भुक्तानी गरे हुन्छ। भारतका लागि डलरको र त्यसमा पनि तेलको आयात बिलमा हुने खर्चले त्यति धेरै महत्त्व नराखे पनि रणनीतिक रुपमा महत्त्वपूर्ण रहेको व्यवसायीहरू बताउँछन्।
जतिसुकै मूल्यअभिृद्धिमा प्रश्न उठाएपनि भारतका लागि यो रणनीतिक लाभकै विषय भएकाले नेपालबाट हुने निर्यात प्रभावित नहुनेमा व्यवसायी ढुक्क छन्।
