काठमाडाैं- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएकाे छ।
कम्पनीले आफ्नो जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सेयर खुला गर्न लागेको हो।
यस अन्तर्गत ८ लाख ६० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका बासिन्दाका लागि छुट्याइएको छ, जसमा वडा नं. १ र २ का अति प्रभावित बासिन्दाले ३ लाख ४४ हजार कित्ता र सोही नगरपालिकाका अन्य वडाका बासिन्दाले ५ लाख १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सर्वसाधारणका लागि निर्धारित सेयरको १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि निष्कासन गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। स्थानीय बासिन्दाका लागि निष्कासन छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख ३१ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी डबल बी प्लस' रेटिङ प्रदान गरेको छ। जसले मध्यम वित्तीय जोखिम रहेको जनाउँछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सल्लेरीस्थित माछापुच्छ्रे, नेपाल बैंक, प्रभु र एनएमबि बैंकका शाखाहरू वा आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्। स्थानीयले फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्ने छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी-आस्बा प्रणाली वा मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्ने सुविधा उपलब्ध गराइएको छ।
