सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतबाट ३५ रुपैयाँमा बिजुली किनेर यहाँ ९ रुपैयाँमा बिक्री गर्न सकिँदैन : विद्युत प्राधिकरण

बुधबार, चैत ९ २०७८
भारतबाट ३५ रुपैयाँमा बिजुली किनेर यहाँ ९ रुपैयाँमा बिक्री गर्न सकिँदैन : विद्युत प्राधिकरण

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले तत्काल भारतबाट बिजुली खरिद नगर्ने भएको छ। चरम ऊर्जा संकटपछि भारतबाट आउने बिजुली महँगो भएपछि मंगलबार रातिदेखि भारतबाट आयात हुने बिजुली रोकिएको छ। जसका कारण उद्योगहरूमा बिजुली आपूर्ति असहज भएको छ भने कतिपय उद्योगहरूमा बिजुली नै रोकिएको छ। 

नेपाललाई सप्लाइ गर्ने एजेन्सीहरूले ८ देखि १० भारुमा ‘बिड’ गरेकाले आयात रोकिएको विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन्। ‘अहिले नै रकम महँगो बनाएर ल्याउनेभन्दा पनि केही दिन पर्ख र हेरको अवस्थामा रहेका छौँ,’ भट्टराईले भने।

अहिले प्रतियुनिट ३५ रुपैयाँ पर्ने भएकोले समस्या भएको समेत प्राधिकरणको भनाइ छ। ‘३५ रुपैयाँमा किनेर ९ रुपैयाँमा दिने अवस्था छैन, विकल्पका विषयमा अहिले छलफल भइरहेको छ,’ प्रवक्ता भट्टराईले भने। 

भारतीय बजारमा ऊर्जाको मूल्य बढेको तर नेपालले बिड गरेको रकममा नपाइएको उनको भनाइ छ। नेपालले अधिकतम १० भारुसम्म बिड गरेको तर भारतीय बजारमा २० भारुमा मात्र पाइएको छ। यस्तो अवस्थामा नेपालले बिड गरेको रकममा ऊर्जा उपलब्ध नभएको भट्टराईको भनाइ छ।

नेपालले आफ्नो बिड रकम बढाएर भारतीय बिजुली ल्याउनुपर्ने बाहेकको अर्को विकल्प छैन। बजारको रियलटाइम मूल्यमा ल्याउन नसक्ने हो भने नेपालमा बिजुली अभाव हुने प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मागअनुसारको बिजुली आपूर्ति नहुनेवित्तिकै आज बिहानैदेखि नेपाली उद्योगमा बिजुली आपूर्ति पनि रोकिएको छ। लामो समय यस्तै रहेमा औद्योगिक उत्पादन पनि ठप्प हुने छ। 

उद्योगीहरूले पहिलेजस्तो डिजेलबाट उद्योग सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताएका छन्। यस्तोमा बरु भारतीय बिजुली चल्तीकै दरमा भए पनि ल्याएर वितरण गर्नुपर्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, चैत ९ २०७८११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend