काठमाडौं- एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बैशाख १६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले आफ्नो जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने कुल ७ लाख ९० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूका लागि १० प्रतिशत अर्थात् ७९ हजार कित्ता सेयर खुल्ला गर्न लागेको हो।
यस आईपीओमा आवेदन दिन इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २२ गतेसम्म तोकिएको छ भने सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा वैशाख ३० गतेसम्म समय थपिनेछ।
मुक्तिनाथ क्यापिटल लिमिटेड सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र 'मेरो सेयर' अनलाइनमार्फत विश्वको जुनसुकै कुनाबाट सहजै आवेदन दिन सकिने व्यवस्था छ।
कम्पनीको वित्तीय अवस्थालाई केयर रेटिङ्गस् नेपालले 'केयरएनपी डबल बी' रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। एभरेष्ट कलरले संकलन गरेको यो पुँजी व्यवसाय विस्तार र उत्पादन क्षमता वृद्धिमा उपयोग गर्ने लक्ष्य राखेको छ।
