काठमाडाैं- नेपाल राष्ट्र बैंकले महानगरपालिकाभित्र रहेका बैंकका शाखाहरूलाई स्वेच्छिक रूपमा समायोजन वा एकीकरण गर्न पाउने खुकुलो नीति लिएपछि वाणिज्य बैंकहरूमा शाखा बन्द गर्ने संख्या बढेको छ।
पछिल्लो तथ्यांकअनुसार १० वटा वाणिज्य बैंकले १ सय ३८ वटा शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरहरू बन्द गर्ने प्रक्रिया अघि बढाएका छन्।
यसरी शाखा कटौती गर्नेमा सबैभन्दा अगाडि एनआईसी एसिया बैंक देखिएको छ। एनआईसी एसिया बैंकले देशभरका ४४ वटा शाखालाई नजिकका शाखाहरूमा गाभ्दैछ।
कुनै समय आक्रामक रूपमा भौतिक सञ्जाल विस्तारमा प्रतिस्पर्धा गरेका बैंकहरू अहिले विद्युतीय भुक्तानीको बढ्दो प्रयोग र सञ्चालन खर्च कटौतीको रणनीतिमा लागेका छन्।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र त्यसको प्रथम त्रैमासिक समीक्षामार्फत महानगर क्षेत्रमा बैंकहरूको डिजिटल कारोबार बढेको भन्दै शाखा विस्तार नीतिमा पुनरावलोकन गरेको थियो। विशेषगरी मर्जरमा गएका बैंकहरूले एउटै क्षेत्रमा दोहोरिएका शाखाहरूलाई व्यवस्थापन गर्न यो नीतिको फाइदा उठाएका हुन्।
महानगरका शाखा बन्द गर्न बैंकहरूले राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपरे पनि ६ वटा सर्तहरू पालना गर्नुपर्ने हुन्छ। जसअनुसार शाखा बन्द गर्नुपूर्व ९० दिनअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने, सरकारी निकायलक्षित शाखा भए सम्बन्धित निकायको सहमति चाहिने र ऋण चुक्ता गर्न वा खाता बन्द गर्न चाहने ग्राहकसँग कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था छ।
शाखा मर्ज हुँदा मुख्यरूपमा बैंकहरूको सञ्चालन खर्च घट्नु यसको सबैभन्दा ठूलो फाइदा हो। एउटै क्षेत्रमा धेरै शाखाहरू सञ्चालन गर्दा हुने घरभाडा, बिजुली र कर्मचारी खर्च कटौती हुँदा बैंकको नाफामा सकारात्मक असर पर्छ।
यसले बैंकिङ दक्षता बढाउनुका साथै ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्दछ। जसले समग्रमा 'क्यासलेस' अर्थतन्त्रको विकासमा सहयोग पुर्याउँछ। एउटै ठूलो र व्यवस्थित शाखाबाट सेवा दिँदा बैंकको स्रोतसाधनको पनि उचित प्रयोग हुन पाउँछ।
अर्कोतर्फ पायक पर्ने ठाउँको शाखा बन्द हुँदा ग्राहकहरूले टाढाको शाखासम्म धाउनुपर्ने भने हुनसक्छ, जसले वृद्धवृद्धा र प्रविधिमा कम अभ्यस्त रहेका ग्राहकलाई केही कठिन हुन्छ।
एनआईसी एसिया बैंक
यो बैंकले बैशाख ३ गतेदेखि लागु हुनेगरि सबैभन्दा धेरै ४४ वटा शाखाहरु गाभेको छ। बैंकले काठमाडौंका शाखाहरु नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखा कमलादीमा, बोहोराटार, माछापोखरी र ढुङ्गेधाराका शाखा बालाजुमा गाभेको छ।
त्यसैगरि न्यूरोड खिचापोखरी, भोटाहिटी र किलागल विशालबजारमा, तिन्चुली र चाबहिलमा रहेको शाखाहरु बौद्धमा मर्जर गराएको छ।
अनामनगर, शङ्खमूल र मध्य बानेश्वर नयाँ बानेश्वरमा, सिनामंगल, मित्रपार्क र कालोपुल बत्तिसपुतलीमा, नरेफाँट कोटेश्वरमा, बालुवाटार लाजिम्पाटमा, खसीबजार कलंकीमा, कपन सुकेधारामा , गोंगबु सामाखुसीमा, सोह्रखुट्टे ठमेलमा, टेकु त्रिपुरेश्वरमा विलय गराएको छ।
ललितपुरका शाखाहरुमा ग्वार्को र खुमलटार सातदोबाटोमा, लगनखेल र मंगलबजार जावलाखेलमा, सानेपा पुलचोकमा र खोकना भैँसेपाटीमा गाभेको छ।
त्यसैगरि काठमाडौं भ्याली बाहिरका शाखामहरुमा विराटनगरका शाखमहरु मेनरोड र हाटखोला विराटनगर शाखामा र रानी मिल्स एरिया रोडशेष चोकमा रहेको छ। वीरगंजको शाखा लिंकरोड र पावरहाउस चोक आदर्शनगरमा, चितवनको शाखा बसेनी शाखा हाकिम चोकमा मर्ज गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १८ वटा शाखा गाभ्ने प्रक्रिया अघि बढाएको छ। चैत ३ गतेदेखि नै लाजिम्पाट नक्सालमा, खिचापोखरी न्यूरोडमा, कुमारीपाटी लगनखेलमा, जावलाखेलका दुई शाखा एकीकृत, नयाँ बानेश्वरमा दुईवटालाई एउटा, टेकुको त्रिपुरेश्वरमा, चाबहिलको दुईवटा एउटामा र कलंकीको दुईवटा एउटामा समायोजन भइसकेका छन्।
बैशाख ६ गतेदेखि बागबजार पुतलीसडकमा, गौशाला बत्तिसपुतलीमा, ठमेलको दुईवटा एउटामा, कुलेश्वर कालिमाटीमा र पाटन शाखा लगनखेलमा गाभिनेछन्। उपत्यकाबाहिर नारायणगढ, वीरगन्ज, विराटनगर र पोखराका थप शाखाहरू पनि समायोजन हुने तयारीमा छन्।
कुमारी बैंक
कुमारी बैंकले १६ वटा शाखा र ८ वटा विस्तारित काउन्टरहरू गरी कुल २४ स्थानका कार्यालय समायोजन गरेको छ।
ललितपुरको टङ्गाल मंगलबजारमा, काठमाडौंको जनवहाल न्यूरोडमा, बानेश्वर मैतीदेवीमा, वसुन्धरा महाराजगञ्जमा र सिफल चाबहिल शाखामा गाभिएका छन्।
यस्तै बल्खु, जैसीदेवल, बालाजु, छाउनी, महाराजगञ्ज, सामाखुसी, कुलेश्वर र ताहाचलका विस्तारित काउन्टरहरू नजिकका शाखाहरूमा समायोजन भएका छन्। उपत्यकाबाहिर पोखराका ३, विराटनगरका २, वीरगञ्जका २ र भरतपुरका ३ शाखाहरू पनि एकीकृत भइसकेका छन्।
प्रभु बैंक
प्रभु बैंकका १४ वटा शाखा २०८३ बैशाख १३ गतेदेखि एकीकृत हुँदैछन्। काठमाडौंमा बौद्ध शाखा बौद्ध-१ मा, बागदरबार खिचापोखरीमा, नरेफाँट कोटेश्वरमा, सिनामंगल एयरपोर्ट सिनामंगलमा, मित्रपार्क चाबहिलमा, टेकु कालिमाटीमा र पुतलीसडक कमलादी शाखामा समायोजन हुनेछन्।
ललितपुरमा पाटन मंगलबजारमा र सातदोबाटो चोक सातदोबाटो शाखामा गाभिनेछन्। विराटनगरको गोल्छाचोक, पोखराका अर्घौचोक, हरिचोक र नयाँगाउँ तथा चितवनको बेलचोक शाखा पनि नजिकका शाखाहरूमा समायोजन हुनेछन्।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले २०८३ बैशाख २८ गतेदेखि ८ वटा शाखा समायोजन गर्दैछ। काठमाडौंको ज्ञानेश्वर सानो गौचरनमा, नयाँबानेश्वर शंखमुलमा, इन्द्रचोक असनमा र बाफल कलंकी शाखा कलंकीमा गाभिनेछन्।
ललितपुरको खुमलटार सातदोबाटोमा, धोबीघाट एकान्तकुनामा, सुन्धारा ग्वार्कोमा र कुमारीपाटी शाखा लगनखेल शाखामा समायोजन हुने बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकका ८ वटा शाखा २०८३ साउन १८ गतेदेखि समायोजन हुनेछन्। जसमा चितवनको हाकिम चोक नारायणगढमा, काठमाडौंको बालाजु गोंगबुमा, खुसीबु डल्लुमा, कलङ्की स्वयम्भूमा, कोटेश्वर नयाँ बानेश्वरमा र ठमेल शाखा दरबारमार्गमा गाभिनेछन्।
यस्तै पोखराको लामाचौर बगरमा र वीरगञ्जको लिङ्करोड शाखा आदर्शनगर शाखामा समायोजन हुनेछन्।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकका ८ वटा शाखा २०८३ साउन १ गतेदेखि एकीकृत हुनेछन्। काठमाडौंको कालोपुल चाबहिलमा, कुलेश्वर कालिमाटीमा, न्यूरोड गेट न्यूरोडमा र नरदेवी पुतलीसडकमा गाभिनेछन्।
ललितपुरको जावलाखेल बी एण्ड बी शाखामा समायोजन हुनेछ भने पोखराका चिप्लेढुङ्गा, बगर र बुद्धचोक शाखाहरू पनि नजिकका अन्य शाखामा समायोजन हुनेछन्।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले २०८३ जेठ १९ गतेदेखि ७ वटा शाखा गाभ्दैछ। भरतपुरको हाकिमचोक शाखा भरतपुरमा, काठमाडौंको सुन्धारा न्यूरोडमा, बाङ्गेमुढा असनमा र गौशाला पुरानो बानेश्वरमा समायोजन हुनेछन्।
यस्तै पोखराको बीपी चोक र बगर शाखा न्यूरोडमा तथा बुढीबजार शाखा तालचोक शाखामा गाभिने छन्।
नबिल बैंक
नबिल बैंकले ७ वटा शाखा समायोजनको प्रक्रिया अघि बढाएको छ। काठमाडौंको मालिगाउँ र भाटभटेनी शाखा विशालनगरमा, मित्रपार्क चाबहिलमा र घण्टाघर शाखा तीनधारा शाखामा समायोजन हुनेछन्।
यस्तै नयाँ बानेश्वर र सिनामंगल शाखा बिजुलीबजार शाखामा गाभिने बैंकले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।
एनएमबि बैंक
एनएमबि बैंकले ४ वटा शाखाको समायोजन कार्य २०८२ चैत २५ गतेदेखि नै सम्पन्न गरिसकेको छ। विराटनगर शाखा महेन्द्रचोकमा, भरतपुरको नारायणगढ मेनरोड शाखा लायन्स चोकमा, पोखरा शाखा चिप्लेढुङ्गामा र पोखराकै रामबजार शाखा अमरसिंह शाखामा समायोजन भई एकीकृत कारोबार सुरु भइसकेको छ।
