काठमाडाैं- कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ। सार्वजनिक विवरण अनुसार बैंककाे खुद नाफामा वृद्धि भएको भएकाे छ।
बैंकले चैत मसान्तसम्ममा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा बैंकको नाफा ४९ करोड ३१ लाख रुपैयाँमा सीमित थियो। विशेषगरी खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेरमेन्ट चार्जमा आएको गिरावटले बैंकको मुनाफा बढाउन मुख्य भूमिका खेलेका छन्।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशतले बढेको देखिन्छ।
यसैगरी, कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशतले वृद्धि हुँदा सञ्चालन मुनाफामा १८.३४ प्रतिशतको सुधार आएको छ। नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफामा भने केही गिरावट आएको छ। तथ्याङ्कअनुसार वितरणयोग्य मुनाफा १६.४६ प्रतिशतले घटेको छ भने निष्क्रिय कर्जा सामान्य वृद्धि भई ४.२७ प्रतिशतबाट ४.४ प्रतिशत पुगेको छ।
वित्तीय सूचकहरूलाई हेर्दा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ पैसाले बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४२ पैसामा खुम्चिएको छ।
चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ५७ पैसा कायम भएको छ। हाल ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सन्चित छ। बैंकले यस अवधिसम्म ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
