काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।
शुक्रबार साँझ साढे ५ बजे अर्थ मन्त्रालय पुगेर उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
२०८१ मंसिर १० गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा बोर्डको नेतृत्व सम्हाल्न पुगेका श्रेष्ठको कार्यकाल करिब डेढ वर्षमै टुंगिएको छ।
नयाँ सरकारको गठनसँगै बोर्डको नेतृत्व परिवर्तन हुने चर्चा र राजनीतिक दबाबबीच उनले राजीनामा दिएका हुन्।
पछिल्लो समय बिचौलियाहरूसँगको हिमचिम र निकटतालाई लिएर उनीमाथि पटक-पटक प्रश्न उठ्दै आएको थियो। सरकारले नै उनलाई पदबाट हटाउने (बर्खास्त गर्ने) तयारी र संकेत देखाएपछि श्रेष्ठले त्यसअगावै स्वेच्छाले पद त्याग गरेको स्रोतको दाबी छ।
