काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बजारलाई थप आधुनिक, फराकिलो र चलायमान बनाउन 'धितोपत्र कारोबार सन्चालन विनियमावली, २०७५' मा संशोधन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ।
विशेषगरी सूचीकृत कम्पनीहरूको दैनिक मूल्य सीमा, प्री-ओपन सेसनको दायरा र समग्र बजार सूचकमा लाग्ने सर्किट ब्रेकर प्रणालीमा फेरबदल ल्याएको हाे।
नेप्सेका अनुसार धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत प्राप्त भइसकेको यो नयाँ व्यवस्था आगामी वैशाख ७ गते सोमबारदेखि औपचारिक रूपमा लागु हुनेछ।
नयाँ विनियमावली अनुसार अब सूचीकृत कम्पनीहरूको सेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म घटबढ हुन पाउने व्यवस्था गरिएको छ। जुन यसअघि १० प्रतिशतमा मात्र सीमित थियो। यसले लगानीकर्ताहरूलाई बजारको वास्तविक माग र आपूर्ति अनुसार मूल्य तय गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, बजार खुल्नुअघि हुने 'प्री-ओपन सेसन' बिहान १०:३० देखि १०:४५ सम्म को मूल्य सीमालाई २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ। जसले बजार खुल्ने बित्तिकै देखिने मूल्य असन्तुलनलाई न्यूनीकरण गरी वास्तविक मूल्य निर्धारणमा सहजता प्रदान गर्नेछ।
समग्र बजार सूचकको उतारचढाव नियन्त्रणका लागि प्रयोग गरिने सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गर्दै तीन तहबाट दुई तहमा झारिएको छ। अब कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ भने सोही दिन सूचक ८ प्रतिशतले उतारचढाव भएमा उक्त दिनको सम्पूर्ण कारोबार पूर्ण रूपमा बन्द गरिनेछ। यसअघि ४, ५ र ६ प्रतिशतको तीन तहको प्रणाली अभ्यासमा थियो।
नेप्सेले प्राविधिक तयारी पूरा गरिसकेकाले आगामी सोमबारदेखि नेपाली सेयर बजार नयाँ कार्यविधि अनुसार सन्चालन हुने भएको छ।
