सुनसरी- मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा बैंकको नाफामा सुधार देखिएको हाे।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ९ करोड ६२ लाख १८ हजार ८०२ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा बढी हो। गत वर्ष बैंकले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ। चैत मसान्तसम्ममा बैंकले २२ करोड १५ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा भएको बढोत्तरीले यसको व्यवसाय विस्तारमा मद्दत पुगेको देखिन्छ। विवरण अनुसार बैंकको कुल निक्षेप ८ अर्ब ५८ करोड १२ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ६ अर्ब ८४ करोड ९० लाख रुपैयाँ रहेको छ।
वित्तीय सूचकाङ्क तर्फ बैंकको खराब कर्जामा पनि उल्लेख्य सुधार आएको छ। गत वर्षको तेस्रो त्रैमासमा ०.७८ प्रतिशत रहेको खराब कर्जा घटेर अहिले ०.४८ प्रतिशतमा झरेको छ।
हाल बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३७ करोड ८३ लाख ५६ हजार रुपैयाँ सन्चित छ। बैंकको प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३९ रुपैयाँ ३७ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नुपर्ने पुँजी कोष अनुपात २४.७१ प्रतिशत रहेको छ। जुन नियामक निकायले तोकेको सीमा भन्दा माथि र मजबुत छ।
