काठमाडाैं- आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले संस्थाको नाफामा केही संकुचन देखिएकाे छ।
प्राप्त विवरण अनुसार, लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको हाे।
चालु आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा लघुवित्तले कुल ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ६.०८ प्रतिशतको गिरावट हो। गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। विशेष गरी खुद ब्याज आम्दानीमा आएको गिरावटले गर्दा नै संस्थाको समग्र नाफा प्रभावित हुन पुगेको देखिन्छ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा १३.६५ प्रतिशतको कमी आएको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ३.५० प्रतिशतले ओरालो लागेको छ।
यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १२.८० प्रतिशतले घट्दा सन्चालन मुनाफामा पनि ६.६९ प्रतिशतको गिरावट देखिएको छ। तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ कायम भएको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ।
नाफा घटेसँगै संस्थाको प्रतिसेयर आम्दानीमा पनि ह्रास आएको छ। गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी ५५ पैसाले घटेर ८ रुपैयाँ ४६ पैसामा सीमित हुन पुगेको छ। चैत मसान्तसम्मको तथ्यांक अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात ८२.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७ पैसा कायम भएको छ।
पुँजीगत संरचनातर्फ हेर्दा, १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ सन्चित रहेको छ।
संस्थाले पहिलो ९ महिनाको अवधिमा विभिन्न स्रोतबाट ४ अर्ब ६० करोड ८९ लाख रुपैयाँ सापटी परिचालन गरी कुल ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
