काठमाडाैं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ वटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएकाे छ।
बुधबार बसेको बोर्डको बैठकले एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम स्वीकृति दिएको हो।
यस अनुमतिसँगै एभरेष्ट कलर लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २० हजार कित्ता सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउनेछ, जसको बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले रहेकाे छ।
यस्तै माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले कुल २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीकाे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले पनि प्रतिसेयर १०० रुपैयाँकै दरमा ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।
यसको बिक्री प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ। बोर्डबाट एकैसाथ स्वीकृति पाएका यी ३ वटै कम्पनीले अबको केही समयभित्रै आह्वानपत्र सार्वजनिक गरी औपचारिक रूपमा सेयर बिक्री खुला गर्ने तयारी गरेका छन्।
