काठमाडाैं- सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज बैशाख ३ गते देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन आह्वान गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेकाहरूलाई १० प्रतिशत, कर्मचारीलाई १ लाख ७१ हजार ६०० कित्ता र सामूहिक लगानी कोषलाई २ लाख १४ हजार ५०० कित्ता सेयर यसअघि नै बाँडफाँट गरिसकेको छ।
अहिले बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि खुला गरिएको हो।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताका लागि बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने माग बमोजिम आवेदन नपरेको खण्डमा निष्कासन अवधि बैशाख १७ गतेसम्म लम्बिनेछ। एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको यस आईपीओमा सी-आस्बा सदस्य बैंक तथा 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था छ।
यस कम्पनीको वित्तीय जोखिमको पक्षलाई हेर्दा केयर रेटिङ नेपालले यसलाई 'केयरएनपी सिंगल बी' रेटिङ दिएको छ, जसले लगानीमा उच्च जोखिम रहेको जनाउँछ।
