काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ बिन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.७० प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.६४ प्रतिशत फ्लोट इण्डेक्स १.७६ प्रतिशतले घटेकाे छ।
आजको कारोबारमा ३ सय ३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६ सय २८ कित्ता सेयर ९७ हजार ४ सय ८० पटक किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९ सय ६७ रुपैयाँको कारोबार भएको छ।
आइतबार १०५ अंकले घटेको सेयर बजार सोमबार ८३.३३ अंकले बढेको थियो भने मंगलबार २ अंकले घटेको थियो। बुधबार ४५.१२ अंकले बढेको बजार हिजो पनि ४८ अंकले बढेको थियो। यो साता ६ दिन सेयर कारोबार भएको छ। ६ दिनको कारोबारमा नेप्से ६९ अंकले बढेको छ।
आजको कारोबारमा भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनीको यस दिन ५१ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।
आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ६७, वित्त शून्य दशमलव ६०, होटल तथा पर्यटन शून्य दशमलव ४४, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव ७३, म्युचुअल फन्ड शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ४८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ।
