काठमाडौं- चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ। यो गत वर्ष २०२५ को ४.६ प्रतिशतको तुलनामा न्यून हो। यो आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
जेनजी आन्दोलन र खाडी युद्धको प्रभावसँगै अनियमित वर्षालगायतका कारणले कृषि उत्पादन पनि घट्ने एडीबीको अनुमान छ। पश्चिम एसियाको युद्धले पर्यटन र सेवा क्षेत्रसमेत प्रभावित हुने जनाइएको छ।
राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढाउने देखिएको एडीबीको भनाइ छ। यद्यपि खासगरी पश्चिम एसियामा जारी द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण आप्रवाहमा प्रतिकूल जोखिम कायमै रहने देखिएको एडीबीको भनाइ छ।
अहिले उपभोक्ता मुद्रास्फिति दर करिब ३.७ प्रतिशत रहने र आन्तरिक आर्थिक गतिविधिहरूमा सुधार हुँदै गए आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन सुदृढ भएर आउने आर्थिक वर्ष वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण रहेको छ।
विप्रेषण आप्रवाह तथा निर्यातको वृद्धिदरमा कमीलगायतका कारण सन् २०२५ को ६.७ प्रतिशतको तुलनामा २०२६ मा चालु खाता बचत जीडीपीको ७.२ प्रतिशत रहने जनाइएको छ।
