काठमाडाैं- कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ।
यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ जारी गरेको हो।
कुल ५५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले त्यसको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये स्थानीयका लागि ५ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८२ हजार ५०० कित्ता सेयर यसअघि नै बिक्री भइसकेको छ। अहिले सर्वसाधारणका लागि छुट्याइएको कुल कित्तामध्ये सामूहिक लगानी कोषलाई ४१ हजार २५० कित्ता र कर्मचारीहरूका लागि १६ हजार ५०० कित्ता सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर बिक्री खुल्ला गरिएको हो।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
केयर रेटिङ नेपालले यस कम्पनीलाई केयरएनपी डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
निष्कासनको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ भने लगानीकर्ताले मेरो सेयर एप वा आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सक्नेछन्।
