सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्सेको सर्किट ब्रेकर प्रणालीमा हेरफेर गर्ने तयारी, ८ प्रतिशतको उतारचढावपछि मात्रै बजार बन्द हुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
नेप्सेको सर्किट ब्रेकर प्रणालीमा हेरफेर गर्ने तयारी, ८ प्रतिशतको उतारचढावपछि मात्रै बजार बन्द हुने

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्दै नेप्सेले विद्यमान सीमा र समयमा हेरफेर गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको हो।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पुँजी बजारको उतारचढावलाई व्यवस्थित गर्न प्रयोग गर्दै आएको ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्ने भएको छ। 

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्दै नेप्सेले विद्यमान सीमा र समयमा हेरफेर गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको हो। 

नेप्सेले तयार पारेको यस संशोधन प्रस्तावलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।जसका कारण अब बजारमा नयाँ मापदण्ड लागू हुनेछ।

संशोधित विनियमावली अनुसार अब नेप्से सूचकमा हुने वृद्धि वा गिरावटको पहिलो सीमा ५ प्रतिशत कायम गरिएको छ। 

नयाँ व्यवस्था अनुसार कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ। यसअघि ४ प्रतिशतको परिवर्तनमा २० मिनेटका लागि कारोबार रोक्ने प्रावधान रहेको थियो। अब ८ प्रतिशतको उतारचढाव भएमा मात्र त्यस दिनका लागि सम्पूर्ण कारोबार पूर्ण रूपमा बन्द हुनेछ। 

५ प्रतिशतको पहिलो सर्किट ब्रेकपछि पुनः खुलेको बजारमा यदि सूचक ८ प्रतिशत पुग्यो भने उक्त दिनका लागि कारोबार स्थगित हुनेछ। हालको व्यवस्थामा ६ प्रतिशतको उतारचढाव हुँदा नै दिनभरका लागि बजार बन्द हुने गर्थ्यो।

यसअघि प्रचलनमा रहेको ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकर व्यवस्थालाई परिमार्जन गरी अब ४ प्रतिशतको प्रावधान हटाइएको छ भने अन्तिम सीमालाई ६ बाट बढाएर ८ प्रतिशत पुर्‍याइएको छ। 

यस परिवर्तनले बजारलाई थप चलायमान बनाउने र लगानीकर्ताहरूलाई कारोबारका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ। यद्यपि, समग्र बजार सूचकको नियम फेरिए पनि व्यक्तिगत कम्पनीहरूको सेयर मूल्यमा लाग्ने १० प्रतिशतको सर्किट सीमालाई भने यथावत राखिएको छ।

धितोपत्र बोर्डले यो प्रस्ताव पारित गरिसकेको भए पनि यो प्रणाली तत्कालै कार्यान्वयनमा आइसकेको छैन। बोर्डबाट आधिकारिक पत्र नेप्सेमा पुगेपछि बस्ने नेप्से सञ्चालक समितिको बैठकले यसलाई कुन मितिदेखि लागू गर्ने भन्ने ठोस निर्णय लिनेछ। 

प्राविधिक तयारी पूरा हुनासाथ अन्तर्राष्ट्रिय अभ्यास र बढ्दो लगानीकर्ताको चापलाई सम्बोधन गर्ने गरी यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याइने नेप्से स्रोतले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत २४ २०८२१२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend