काठमाडौं- नेप्से परिसूचकमा सोमबार उल्लेख्य सुधारसहित उकालो लागेको छ।
आइतबार १०५ अंकले घटेको बजार सोमबार भने ८३.३३ अंकले बढेर २ हजार ७६० दशमलव ०२ बिन्दुमा पुगेको हो।
लगातार ओरालो लागेको बजारमा सोमबारको सुधारलाई अर्थमन्त्री स्वर्णिम वाग्ले ले लगानीकर्तालाई दिएको भरोसासँग जोडेर हेरिएको छ। बजारमा देखिएको अनिश्चितता कम गर्न सरकार प्रतिबद्ध रहेको सन्देशपछि लगानीकर्ताको मनोबल केही सुदृढ भएको देखिएको छ।
आज सेन्सेटिभ इण्डेक्स ३.१२ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ प्रतिशतल, फ्लोट इण्डेक्स ३.२२ प्रतिशतले बढेको छ।
आजको कारोबारमा ३ सय ४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८ सय ५४ कित्ता सेयर १ लाख २४ हजार ९३ पटक किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८ सय ६३ रुपैयाँको कारोबार भएको छ।
यस दिन ८ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सकाे १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँको सेयर किनबेच भएकोछ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५९ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक ४ प्रतिशत बढेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र त्यसले सिर्जना दबाबका कारण बजार घट्दो क्रममा रहे पनि सरकारबाट आएको विश्वासले बजारमा सुधारको संकेत देखिएको छ।
चुनावअघिको अन्तिम कारोबार दिन फागुन १९ गते नेप्से २ हजार ७१२ दशमलव ४९ अंकमा बन्द भएको थियो। त्यसयता नयाँ सरकार बनेपछि बजारले नयाँ उचाइ लिने अपेक्षा गरिए पनि वास्तविकता भने त्यसको ठीक उल्टो देखिएको छ।
प्रतिनिधिसभा निर्वाचनपछि फागुन २५ गते खुलेको बजारले ६ प्रतिशतको सर्किट हानेर २ हजार ८७५ दशमलव ४३ अंकसम्म पुगेको थियो। तर त्यसपछि बजारमा देखिएको उतारचढाव पछिल्ला दिनमा स्पष्ट गिरावटमा परिणत भएको छ। विशेषगरी चैत ११ गतेयता भएका ८ कारोबार दिनमा मात्रै नेप्से २५८ दशमलव ८३ अंकले घटेको छ भने सरकार गठनपछिका ६ कारोबार दिनमै २८२ दशमलव १७ अंकको गिरावट आइसकेको छ।
पछिल्लो गिरावटमा सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएका घटनाक्रम मुख्य कारकका रूपमा देखिएका छन्। दीपक भट्ट पक्राउ परेपछि उनीसँग सम्बन्धित अन्य लगानीकर्ता तथा व्यवसायीहरू समेत छानबिनको दायरामा पर्न सक्ने त्रासले बजारमा मनोवैज्ञानिक दबाब सिर्जना भएको छ।
विशेषगरी सेयर कारोबारमार्फत ठूलो लगानी विस्तार गरेका समूहहरूमा सरकारको आगामी कदमबारे अनिश्चितता बढ्दा लगानीकर्ताहरू सतर्क बनेका छन्। अर्को महत्वपूर्ण पक्ष भनेको अनुसन्धानका क्रममा सेयर बजारमा सूचीकृत विभिन्न कम्पनीहरूको नामसमेत जोडिनु हो। यसले ती कम्पनीहरूको सुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ।
