सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्नो रिभर्सको आईपीओ आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २३ २०८२
स्नो रिभर्सको आईपीओ आवेदन दिने आज अन्तिम दिन

कम्पनीले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ बराबरको जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएकोमा हाल  ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता साधारण सेयर स्थानीयका लागि बिक्रीमा ल्याएको हो।

काठमाडाै‌ं- स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि चैत ९ गतेदेखि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज चैत २३ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ बराबरको जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएकोमा हाल  ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता साधारण सेयर स्थानीयका लागि बिक्रीमा ल्याएको हो।

यस निष्कासन अन्तर्गत आयोजनाबाट अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का बासिन्दाहरूका लागि ४ लाख ६८ हजार ७५० कित्ता सेयर छुट्याइएको छ। 

त्यसैगरी, ताप्लेजुङकै सिरिजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिकाका वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिकाका वडा नं. ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ का बासिन्दाहरूका लागि बाँकी ४ लाख ६८ हजार ७५० कित्ता सेयर बाँडफाँट गरिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको वित्तीय स्वास्थ्यलाई इक्रा नेपालले 'इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस' प्रदान गरेको छ, जसले दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। 

सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा स्थानीय बासिन्दाले आयोजना स्थल याम्फुदिनका साथै नेपाल बैंकको सिरीजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क तोकिएको छ।


प्रकाशित : सोमबार, चैत २३ २०८२०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend