काठमाडौं- नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग कर्जा प्रवाह बढाउन नयाँ नीति लागू गरेको छ। आइतबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ अनुसार अब ३ करोड रुपैयाँसम्मको साना तथा मझौला उद्योग कर्जा जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको छ।
नयाँ जोखिम भार व्यवस्थाले कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योग क्षेत्रमा लगानी हुने कर्जामा मात्र लागू हुनेछ। बैंक तथा वित्तीय संस्थाले यी क्षेत्रका साना तथा मझौला व्यवसायलाई कर्जा प्रवाह गर्दा जोखिम भार ६० प्रतिशत कायम हुनेछ।
कर्जा प्राप्त गर्न आवश्यक मापदण्डमा परियोजना बीमा गरिएको हुनु पर्नेछ। कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित भएको वा घरजग्गा धितोको प्रचलित बजार मूल्यमा कम्तीमा २५ प्रतिशत अन्तर कायम गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ।
यो व्यवस्था राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८२ अन्तर्गत गरिएको संशोधन हो। 'क', 'ख' र 'ग' वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूले यो निर्देशन पालन गर्न अनिवार्य छ।
निर्देशन अनुसार, ३ करोडसम्मको साना तथा मझौला उद्योग कर्जा मापदण्ड पूरा गरेमा जोखिम भार ६० प्रतिशत कायम गरिनेछ।
