सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मोतीपुर १३२ केभी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ४ २०७८
मोतीपुर १३२ केभी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार हुने

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा निर्माण गरेको १३२-३३-११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार देखि सञ्चालनमा गएको छ। 

पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ।

सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन्। सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ। यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ। उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत प्रयोग गर्न आग्रह गरिन्। 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सबस्टेसनले मोतीपुर क्षेत्रको विद्युत आपूर्तिमा सन्तुलन ल्याउने बताए। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै यस मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गरेका छन्। उनले सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत आपूर्ति भरपपर्दो र गुणस्तरीय भएको र प्राविधिक चुहावट समेत कम भएको बताए। 

मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा  विद्युत आपूर्तिका लागि क्रमश: ३३ केभी र ११ केभी  फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको छ। यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत आपूर्ति भइरहेको थियो। लामो लाइनबाट विद्युत आपूर्ति हुँदा न्यून भोल्टेज,ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जानेलगायतका समस्या थियो। सालझण्डीमा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ। सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुने छ। 

बुर्तिवाङ-पाउदी अमराई-तम्घास-सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो। आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा  १३२-३३-११ केभी सबस्टेसन र मोतीपुर-सन्धिखर्क खण्ड प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा छ।  

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो। आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन्। नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब ३ अर्ब रुपैयाँ छ। 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend