शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

अफ्रिकन ‘स्वाइन फिभर’ बाट नवलपरासीमा तीन सय बंगुर मरे, केही किसानको फार्म नै रित्तियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २२ २०८२
अफ्रिकन ‘स्वाइन फिभर’ बाट नवलपरासीमा तीन सय बंगुर मरे, केही किसानको फार्म नै रित्तियो

'अहिलेसम्म यो रोगको कुनै भ्याक्सिन बनेको छैन, जैविक सुरक्षा अपनाएर रोग लाग्नै नदिनु उत्तम हुन्छ, रोग लागेमा बंगुर मर्ने सम्भावना धेरै हुन्छ।'

नवलपरासी- पछिल्लो एक सातामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा अफ्रिकन ‘स्वाइन फिभर’ बाट ३ सय वटाभन्दा बढी बंगुर मरेका छन्। जिल्लाको गैँडाकोट नगरपालिकामा फैलिएको यस रोगबाट १३ जना कृषकले पालेका ३०० सात वटा बंगुर मरेका हुन्।

पशुसेवा कार्यालय गैँडाकोटका अनुसार पालिकाभित्रका कृषकले पालेका बंगुरमा फैलिएको यस रोगबाट आज दिउँसोसम्म थप चार सय ४० वटा बंगुर बिरामी परेका छन्। पशुसेवा शाखा प्रमुख डा प्रमोद पौडेलले यस रोग गैँडाकोटको १, ३, ७ र ९ नम्बर वडामा फैलिएको जानकारी दिए। 'यस रोगका कारण एउटै वडामा १५० वटा बंगुर मरेका छन्', उनले भने, 'अफ्रिकन स्वाइन फिभरबाट तीन वटा कृषकको बंगुर फार्म नै रित्तै भएको छ।'

'अफ्रिकन स्वाइन फिभर बंगुरमा देखिने उच्च ज्वरो हो, यो रोग लाग्दा बंगुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउँछ', उनले भने, 'ज्वरोसँगै बिरामी बंगुरको कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, चाल धर्मराउने हुँदै अन्तिममा बंगुरको मृत्यु हुन्छ।'

बंगुरपालक कृषकले विभिन्न लक्षण देखिएर बंगुर मरेको जानकारी गराएपछि पशुसेवा शाखा र जिल्लाले गैँडाकोटको वडा नं ७ स्थित बंगुर फार्मबाट बंगुरको पिसिआर परीक्षण गर्न माघ १४ गते नमुना संकलन गरी काठमाडौं पठाउँदा आज आएको रिपोर्टमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको उनले जानकारी दिए।

रोगी बंगुरमा उपचार सेवा प्रदान गरिएको भन्दै पौडेलले रोग देखिएको खोर वरिपरि ‘रिङ भ्याक्सिनेसन’ गरिएको जानकारी दिए।

जिल्लामा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएपछि यसलाई थप फैलिन नदिने उच्च सुरक्षा सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय नवलपुरकी प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा. शर्मिला कुमालले जानकारी दिइन्।

अफ्रिकन स्वाइन फिभर रोगको उच्च जोखिममा रहेका सुँगुर तथा बंगुरपालक कृषकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको उनले बताइन्।

'अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमणबाट आफ्नो पशुधनहरूलाई जोगाउन जिल्लावासी कृषकहरूलाई अनुरोध गरेका छौँ', उनले भनिन्, 'बंगुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने तथा चाल धर्मराउने गरेमा तुरुन्तै नजिकैको पशुसेवा कार्यालयमा सम्पर्क गर्नुहोला।'

अफ्रिकन स्वाइन फिभर रोग नियन्त्रण गर्न फर्ममा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न सकिने उनले बताइन्। 'बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन, भिर्केनजस्ता सामग्रीको प्रयोग गरी निःसङ्क्रमण गनुपर्छ,' उनले भनिन्, 'रोगको शङ्का लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्नुपर्छ।'

शङ्कास्पद सुँगुर/बंगुरको नमुना प्रयोगशालामा परीक्षण गराउनुपर्ने भन्दै उनले मरेको सुँगुर/बंगुरलाई राम्रोसँग खाल्डो खनेर गाड्ने वा जलाउनुपर्ने बताइन्। घरपालुवा सुङ्गुर/बङगुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन दिन नहुने भन्दै डा कुमालले भनिन्, 'अहिलेसम्म यो रोगको कुनै भ्याक्सिन बनेको छैन, जैविक सुरक्षा अपनाएर रोग लाग्नै नदिनु उत्तम हुन्छ, रोग लागेमा बंगुर मर्ने सम्भावना धेरै हुन्छ।'

सुङ्गुर/बंगुरलाई होटेल रेष्टुराँबाट ल्याएर फोहर खानेकुरा खुवाउने गरिएमा रोगी पशुको मासु तथा हड्डीसमेत मिसिनसक्ने र यसबाट स्वस्थ फर्ममा सङ्क्रमण फैलनसक्ने उच्च जोखिम रहनेहुँदा त्यस्ता खानेकुरा नखुवाउन उनले बंगुरपालक कृषकलाई सुझाव दिइन्।

सुँगुर/बंगुर प्रजातिका पशुहरू ओसारपसार गर्न नियन्त्रण गरी सङ्क्रमित फर्मबाट सुँगुर बंगुरका पाठापाठी खरिद गर्न नहुने बताइन्। अफ्रिकन स्वाइन फिभर रोग रोगी बंगुरबाट मानिसमा नसर्ने भए पनि सावधानी अपनाउन उनले आग्रह गरेकी छिन्। जिल्लामा करिब १८ हजार ३१८ वटा बंगुर रहेको कुमालले जानकारी दिइन्। रासस


प्रकाशित : बिहीबार , माघ २२ २०८२११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend