पर्वत- स्याङ्जा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन गर्न थालिएको छ।
फलेवास नगरपालिका-६ को चौबीसकुरिया र सातकुरिया फाँटमा ८ प्रजातिका गहुँ र लुम्ले-१ नामको तोरीको बीउको उत्पादन थालिएको हो। स्थानीय शक्ति कृषि फार्मको मूल संयोजनमा १५ जना किसानको सहभागितामा बीउ उत्पादन भइरहेको अगुवा किसान रमेश चापागाईँले जानकारी दिए।
'सातकुरिया र चौबीसकुरिया फाँटमा २ सय रोपनीमा लुम्ले-१ तोरीको मूलबीउको खेती भइरहेको छ। अन्य क्षेत्रमा हिउँदे आलु, केराउ तथा मुसुरो लगाइएको छ। हिउँदमा पहाडी भेगमा लगाउन सकिने जातका ८ प्रजातिको गहुँमा अनुसन्धान भइरहेको छ,' उनले भने। रासस
