बागलुङ- सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका-८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादन वृद्धि गरिरहेका छन्।
गत वर्ष ५ लाख रुपैयाँमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाएका अनन्त खड्काले यसपटक भने ७ लाख ५० हजार रुपैयाँमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरे। यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा ४ करोड रुपैयाँ भित्रिएको छ।
खड्काले यस वर्ष उत्पादन वृद्धि हुनाका साथै सुन्तलाको मूल्य पनि राम्रो पाएको भन्दै खुसी व्यक्त गरे। आफूजस्ता १ सयभन्दा बढी किसानले १ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म रकम गाउँ भित्र्याएको उनले बताए। अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन्।
सुन्तला उत्पादनको तथ्यांक भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ। सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौं र चितवनमा छ।
कोदो बारी र धान खेत मासेर २०५० सालयता व्यावसायिक सुन्तलाखेतीमा लागेका यहाँका किसान अहिले धमाधम सुन्तलाखेती विस्तारमा लागेका छन्। सिगानामा अबको पाँच वर्षमा गाउँ नै ढाकिने गरी सुन्तलाखेती विस्तार भइरहेको छ। सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोटमा अहिले सुन्तला लगाउने क्रम जारी छ।
गत वर्ष सुन्तला बिक्रीबाट ३ करोड ५० लाख रुपैयाँ भित्र्याएका सिगानाका किसानले यस वर्ष ४ करोड रुपैयाँ रकम भित्र्याएका छन्। सिगानामा समग्रमा सुन्तला उत्पादन गत वर्षको तुलनामा ५० लाख रुपैयाँले वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले बताए। उनले सहकारीमार्फत सुन्तलाखेती विस्तार गर्दै अनुदानमा सुन्तलाका बिरुवा पनि वितरण गर्दै आएको जानकारी दिए।
गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो र रोग नलागेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो। यहाँका सुन्तलाको स्तरीकरण गरेर फरक-फरक मूल्यमा ठेकेदारले पोखरासहितका अन्य बजारमा पठाउने गरेका छन्।
वडा कार्यालयले सुन्तलाको तथ्यांकसमेत राख्न नसकेको भन्दै गणेश कृषि सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काले गत वर्षदेखि सिगानाको सुन्तलाको तथ्यांक संकलन गर्ने कार्य थालिएकाले यो वर्ष ४ करोड रुपैयाँभन्दा बढी रकम सुन्तला बिक्रीबाट सिगाना भित्रिएको बताए।
सिगानामा २ सय ५० भन्दा बढी किसानको सानोदेखि ठूलो सुन्तला बगैँचा छ। यस वर्ष ४ सय नयाँ बोटले सुन्तला उत्पादन दिन सुरु गरेका छन्। सिगाना गाउँका साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ। यहाँका अधिकांश किसान सहकारीमा आबद्ध छन् र वार्षिक रूपमा सुन्तला उत्पादन बढिरहेको पूर्ववडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जीसीले जानकारी दिए।
यहाँका टोपबहादुर खड्का, रामप्रसाद गौतम, राधा खड्का र गंगा केसीलगायत किसानले पोखरा, चितवन, नारायणगढ र धादिङ व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन्। बगैँचा विस्तार र मलजलका कारण सुन्तलाखेती उत्पादन फस्टाउँदै गएको पाइएको छ। रासस
