चितवन- संयुक्त अरब इमिरेट्स (साउदी) मा ११ वर्ष काम गरेर फर्किएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।
गैँडाकोट नगरपालिका-६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गरेका हुन्। ६ वर्षअघि नेपाल फर्किएर करिब १ कट्ठा जमिनमा उनले कालीजपालन सुरु गरेका थिए। १३ लाख रुपैयाँको लागतमा उनले सो व्यवसाय सुरु गरेका थिए।
सुरुमा प्रतिगोटा २ हजार रुपैयाँमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर कालिजपालन गरेका सापकोटा अहिले आफै चल्ला बिक्री गरिरहेका छन्। एउटा चल्ला २ सय रुपैयाँमा बिक्री हुने गरेको छ भने वार्षिक करिब १० हजारवटा चल्ला बिक्री हुने गरेको उनले बताए।
पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ। पालिएका माउ कालिज प्रतिगोटा २ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री हुन्छन्।
मासुका लागि पनि उनको फार्मबाट कालिज बिक्री हुने गर्दछ। खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन्। वार्षिक ५ सय वटाभन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ।
चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ। घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ। सापकोटा बिहान-बेलुका कालिजलाई खाना दिन्छन् भने दिउँसो अन्य काममा लाग्छन्। घरपरिवारले व्यवसायमा सहयोग गर्दै आएका छन्।
सापकोटाले भने, 'साउदीमा जति कमाइ गरेँ गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ। यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ भन्ने बुझाएको छ।' रासस
